“लालवानी महामूर्ख”

  • ब्रह्ममदेव यादव, विराटनगर १२४२  पटक हेरिएको

शनिबार, फाल्गुण २०, २०७९ समय : २३:३४:१२ , २ वर्ष अगाडि

मारवाडी समाजका अग्रज एवं आदरणीय अनि सबैका प्रिय ६१ बर्षिय फुलकुमार लालवानी आगामी १ बर्षका लागि विराटनगरको महामूर्खको उपाधि पाएका छन् ।

नेपाली कांग्रेसका लोकप्रिय नेता लालवानी अधिकार प्राप्तिको हरेक आन्दोलनमा अग्रमोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्ने स्वच्छ छवि भएका इमान्दार व्यक्ति हुन् । र तिनै लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो ।

मारवाडी यूवा मञ्च विराटनगरले होली पर्वको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा लालवानीलाई महामूर्खको उपाधि प्रदान गरेको हो । मञ्चले प्रत्येक बर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको कार्यक्रममा मारवाडी समाजका एक जान विशिष्ट अनि समाजले सम्मान गर्ने गरेको व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गर्ने चलन छ ।

अघिल्लो बर्षका महामूर्ख उद्योगी महेश जाजुले शनिबार आगामी १ बर्षका महामूर्ख लालवानीलाई महामूर्खको पदबी हस्तान्तरण गरेको हो । म नेकपा एमाले केन्द्रिय सदस्य तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगड, उद्योगी चम्पालाल राठी, मारवाडी यूवा मञ्च विराटनगरका अध्यक्ष जय शर्मा, निवर्तमान अध्यक्ष गोपाल अग्रवाल, पूर्वअध्यक्ष शिवरतन जोशी, राजेश लखोटिया, सेयरसिंङ दुगड, उपाध्यक्ष तथा कार्यक्रम संयोजक पवनपंकज पारख, उपाध्यक्ष मोहित लालवानी, महासचिव मोहित अग्रवालसहित मञ्चका पदाधिकारीहरुले महामूर्खको उपाधि पाएका लालवानीलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री भक्तिप्रसाद सिटौला, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे लगायत कार्यक्रममा सहभागि उद्योगी व्यवसायीले लालवानीलाई बधाई तथा शुभकामना दिएका थिए ।