“रेल कार्गो सञ्चालनका लागि टिम बनाउनु पर्छ”

  • चिरफार डटकम, विराटनगर १८३  पटक हेरिएको

मंगलबार, मंसिर ०१, २०८३ समय : १७:०३:२१ , २२ घन्टा अगाडि

विराटनगरका उद्योगी व्यवसायीले भारतबाट विराटनगर भन्सार कार्यालयसम्म रेल कार्गो सञ्चालनका लागि टिम बनाउनु पर्ने प्रस्ताव गरेका छन् ।

मोरङ उद्योग व्यापार संघले मङ्गलवार विराटनगरमा आयोजना गरेको लिजिष्टिक हब विराटनगरका लागि पारवहन व्यवस्थापन तथा रेल कार्गो सञ्चालन सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीहरूले सडक मार्गको तुलनामा रेल कार्गोबाट सामान ढुवानी गर्दा भाडा दर महँगो रहेकोले भाडा समायोजनका लागि  नेपाल सरकार र निजी क्षेत्र बिच एउटा बलियो टिम बनाउनु पर्ने प्रस्ताव गरेको हो ।

मोरङ उद्योग व्यापार संघका सचिव तथा स्टिल उद्योगका तर्फबाट अमित सारडाले रेल कार्गो सञ्चालनका लागि नेपाल सरकार, नेपाल रेलवे, नेपाल पारवहन, ट्रान्स नेपाल, टि.आर.एफ. र निजी क्षेत्रको तर्फबाट उद्योगी व्यवसायी सहभागी गराएर  एउटा बलियो टिम बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।

संघका सचिव तथा स्टिल उद्योगका प्रतिनिधि सारडाले सडक मार्गको तुलनामा रेल कार्गोबाट सामान ढुवानी गर्दा भाडा दर निकै नै महँगो रहेको तथ्याङ्क समेत सार्वजनिक गरेका छन् ।

मोरङ उद्योग व्यापार संघ विराटनगरका अध्यक्ष अनिल साह, नेपाल रेलवे कम्पनी जनकपुरका प्रतिनिधि ई. आदर्श काफ्‌ले, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, ट्रान्स नेपालका प्रमुख मुकेशकुमार राठी छलफल कार्यक्रममा सहभागी थिए ।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडा, उपाध्यक्ष विकास बेगवानी, पत्रकार अनन्तराज न्यौपाने, बह्मदेव यादवले सडक मार्गको तुलनामा रेड कार्गोको भाडा दर सस्तो र भरपर्दो बनाउनु पर्ने विषय उठान गरेका थिए ।