विराटनगरमा फागुन २७ गतेदेखि मिल्स गोल्डकप फुटबल प्रतियोगिता

  • ब्रह्ममदेव यादव, विराटनगर १२९३  पटक हेरिएको

बिहिबार, फाल्गुण २५, २०७९ समय : २२:३३:५९ , २ वर्ष अगाडि

विराटनगरमा फागुन २७ गतेदेखि तेस्रो संकरणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । विराटनगर महानगरपालिकाको वडा नं. १६ स्थित नेपाल भारतको सिमान्त क्षेत्र विराटनगर जुटमिलको खेल मैदानमा फुटबल प्रतियोगिताको खेल हुनेछ ।

चैत्र ४ गतेसम्म संचालन हुने मिल्स गोल्डकप फुटबल प्रतियोगितामा कोशी र मधेस प्रदेशका ८ टिमको सहभागिता रहने छ । फुटबल प्रतियोगिताको बारेमा जानकारी गराउने गरी मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी मिल्स एरिया विराटनगर–१६ ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रष्टका अध्यक्ष किशोरबहादुर साहीले प्रतियोगिता सम्पन्न गर्न २५ लाखभन्दा बढि रुपैयाँ खर्च हुने जानकारी गराए ।

विराटनगरका समाजसेवी स्व. नारायणप्रसाद कोइरालाका छोरा पूर्वाञ्चल विश्व विद्यालय अनुगम तथा मूल्याङ्कन केन्द्रको कार्यकारी निर्देशक प्रध्यापक सन्देश कोइरालाले स्वर्गिय बुवाको सम्झनामा मिल्स गोल्डकप फुटबल प्रतियोगिताको बिजेता र उपबिजेता टिमलाई प्रदान गरिने ट्रफी ट्रष्टका अध्यक्ष साहीलाई हस्तान्तरण गर्नु भयो ।

ट्रष्टका अध्यक्ष साहीले मिल्स गोल्डकप फुटबल प्रतियोगिताका बिजेतालाई २ लाख ११ हजार र उपबिजेतालाई १ लाख ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी गराए । प्रत्येक दिन खेलाउने खेलको मेनअफदी म्याच घोषित खेलाडीलाई नगद सहित मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक किशोर सुब्बाले जानकारी गराए ।

प्रतियोगितामा सहभागिता जनाउने टिम र खेलाडीलाई नगदसहित बिदाई गर्ने कार्यक्रम तय भएको प्रतियोगिताका सहसंयोजक प्रह्लाद बस्नेतले बताए । पत्रकार सम्मेलनमा ट्रष्टका महासचिव हिमालय शेर्पा, कोषाध्यक्ष विष्णु डंगोल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष संजिव बुढाथोकीको सहभागिता रहेको थियो । विराटनगर जुटमिलको खेल मैदानमा खेलाउने फुटबल प्रतियोगिता हेर्न आउने दर्शककालागि टिकट नलाग्ने व्यवस्था मिलाईको महासचिव शेर्पाले बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंषराज वाग्लेले सबै क्षेत्रको खेलकुद प्रतियोगिता सम्पन्न गर्न बजेट बिनियोजन गरेपनि मिल्स गोल्डकपको कागजात लिएपनि बजेट बिनियोजन नगर्दा ट्रष्टलाई प्रतियोगिता सम्पन्न गर्न आर्थिक समस्या परेको छ । र ट्रष्टले सोचेअनुसार प्रतियोगितामा राष्ट्रिय स्तरको टिम र खेलाडी ल्याउन सकेन ।