उद्योग संगठन मोरङले सुरु गर्‍यो विराट एक्स्पोको तयारी

  • चिरफार डटकम, विराटनगर १७३  पटक हेरिएको

मंगलबार, कार्तिक ११, २०८३ समय : १५:२७:१४ , ३ घन्टा अगाडि

उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गर्न लागेको विराट एक्स्पो २०२६ को तयारी सुरु गरेको छ ।

उद्योग संगठन मोरङले २०८३ पुस २ गतेदेखि ११ गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२६ को आयोजना गर्न लागेको छ ।

युवालाई दक्ष बनाएर नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यका साथ उद्योग संगठन मोरङले उपाध्यक्ष युवा उद्यमी विपिन काबरालाई संयोजकको जिम्मेवारी दिएर विराट एक्स्पो २०२६ को आयोजना गर्ने निर्णयमा पुगेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले विराट एक्स्पोको तयारी सुरु भइसकेको जानकारी गराए । उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघले आलोपालो गरेर प्रत्येक वर्ष विराटनगरमा विराट एक्स्पो आयोजना गरिरहेका छन् ।

अघिल्लो वर्ष मोरङ उद्योग व्यापार संघले विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फ खुल्ला मैदानमा विराट ट्रेड एक्स्पो २०२५ को आयोजना गरेका थिए ।

यस वर्ष आलोपालो अनुसार उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२६ को आयोजना गर्न लागेको छ ।