- चिरफार डटकम, विराटनगर ५४९ पटक हेरिएको
मंगलबार, फाल्गुण ३०, २०७९ समय : १८:५२:३५ , २ वर्ष अगाडि
ट्राइब्रेकरमा वीरगंज यूनाईटेड फुटबल क्लबलाई पराजित गर्दै गाईघाट फुटबल क्लब उदयपुर मिल्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगर–१६ स्थित विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार खेलाईएको खेलमा निर्धारित ८० मिनेट भित्र दुवै टिमले गोल गर्न सकेन । मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजक समितिले ट्राइब्रेकरमा खेलाईएको खेलमा उदयपुरले ४ मा ४ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरे ।
वीरगंजले ४ मध्ये २ गोल मात्रै गर्न सक्दा हार व्यहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । उदयपुरको तर्फबाट रोशन भुजेल, देवीराज चौधरी, प्रविण राई र मनिष कटुवालले ट्राइब्रेकरमा पाएको अवसरलाई गोलमा परिणत गर्दा सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरे ।
वीरगंजको तर्फबाट शिसाद थापा र विश्वास थापाले मात्रै गोल गर्न सक्दा टिमले हार व्यहोरेको छ । बुधबार सलहेस यूथ क्लब सिरहा र धु्रर्वतारा स्पोटिङ क्लब झापा बिच पहिलो सेमिफाइनलको खेल हुनेछ । क्वाटर फाइनलमा सिरहाले साइनो स्पोष्ट क्लब रानी विराटनगलाई र धु्रर्वताराले शान्ति नगर फुटबल क्लब सुनसरीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
विहीबारको दोस्रो सेमिफाइनलमा साबिक विजेता प्रतिभा फोटबल क्लब गोलबजार सिरहा र गाइघाट फुटबल क्लब उदयपुर बिच खेल हुनेछ । गोलबजार सिरहाले द सेभेन यूथ क्लब धनकुटा र उदयपुरले वीरगंज यूनाईटेड फुटबललाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । गाईघाट फुटबल क्लब उदयपुरका गोलकिपर निमछिरिङ शेर्पा खेलको म्यानअफ दि म्याच घोषित भए ।
मिल्स गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार खेलाइएको प्रतियोगिताको प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष जितेन्द्र साह, मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, उपाध्यक्ष कुमार महर्जन, महासचिव हिमालय शेर्पा प्रतियोगिता संयोजक किशोर सुब्बा, उपसंयोजक प्रह्लाद बस्नेत र ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले म्यानअफ दि म्याच घोषित निमछिरिङ शेर्पालाई म्यानअफ दि म्याच पुरस्कार प्रदान गरेका थिए ।