रानी नाकामा आकाशेपुलको काम रोकियो

  • ब्रह्मदेव यादव, विराटनगर ५१४  पटक हेरिएको

मंगलबार, चैत्र २१, २०७९ समय : १५:१०:४६ , २ वर्ष अगाडि

नेपाल भारतको सिमान्त क्षेत्र रानी नाकामा निर्माण हुन लागेको प्रवेशद्वार सहित आकाशेपुलको काम रोकिएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चैत्र ७ गते प्रवेशद्वार सहित आकाशेपुलको शिलान्यास गरेका थिए ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सहरी विकास भवन कार्यालय विराटनगरले निर्माण गर्न लागेको प्रवेशद्वार सहित आकाशे पुलको निर्माण कार्यप्रति विराटनगर भन्सार कार्यालयले असन्तुष्ट व्यक्त गरेपछि पुलको निर्माण कार्य रोकिएको हो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र राज ढकालले नेपाल भारतको प्रवेशद्वार रानी नाका सुरक्षाको दृष्ट्रिकोणले सम्बेदनशिल क्षेत्र हो । भारतबाट नेपाल प्रवेश गरेका सर्वसाधारण विराटनगर भन्सार कार्यालयको यात्रु शाखाबाट सामान चेक जाँच पास गराएर नेपाल प्रवेश नगरुन्जेल सम्म त्यस्ता व्यक्तिलाई सिमा क्षेत्रमा रोकेर राख्न मिल्दैन ।

सहरी विकास तथा भवन कार्यालय विराटनगरले सिमान्त क्षेत्रमा निर्माण गर्न लागेको प्रवेशद्वार सहित आकाशेपुल सम्बेदनशिल क्षेत्रमा पर्दछ । निर्माण हुन लागेको आकाशे पुलको दक्षिण तर्फ विराटनगर भन्सार कार्यालयको गोदाम छ भने उत्तर तर्फ भन्सार कार्यालयका कर्मचारी बस्ने आवास छ । यस्तो सम्बेदनशिल क्षेत्रमा निर्माण हुन लागेको प्रवेशद्वार सहितको आकाशे पुल सुरक्षाको दृष्ट्रिकोणले सम्बेदनशिल क्षेत्र मानिन्छन ।

भारतबाट नेपाल प्रवेश गर्ने सर्वसाधारण यात्रुशाखाबाट सामान चेक जाँचबाट नगराउन्जेलसम्म आकाशे पुलमा रोकेर राख्न मिल्दैन । विराटनगर भन्सार कार्यालय यात्रु शाखाबाट केही मिटर उत्तर तर्फ मात्र आकाशे पुल निर्माण गर्न मिल्छ । विराटनगर भन्सार कार्यालयले प्रवेशद्वार सहित आकाशेपुलको निर्माण कार्यप्रति असन्तुष्टि जनाएपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले आकाशे पुलको निर्माण कार्य रोकेको बताए ।

सहरी विकास तथा भवन कार्यालय विराटनगरका सब ईन्जिनियर सरोज गौतमले विराटनगर भन्सार कार्यालयको असन्तुष्टि पछि आकाशेपुलको निर्माण कार्य रोकिएको बताए । कोशी प्रदेश सरकारको ७० प्रतिशत, विराटनगर महानगरपालिकाको २० प्रतिशत र उद्योगी क्षेत्रको ५ प्रतिशत गरी करिब ८ करोडको लागतमा रानी नाकामा प्रवेशद्वार सहित आकाशे पुलको निर्माण कार्य हुन लागेको थियो । ह्याबीट्याट आशिषदिप जेभी निर्माण कम्पनीले २ बर्षभित्र आकाशे पुलको निर्माण कार्य सम्पन्न गर्ने ठेक्का पाएको छ ।