- ब्रह्मदेव यादव, विराटनगर ७८० पटक हेरिएको
मंगलबार, जेठ १६, २०८० समय : १७:१५:३८ , १ वर्ष अगाडि
नेपाल पूर्व प्रहरी संगठनले कैलालीको टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई दिएको आममाफीको निर्णय सच्याउन सरकारलाई सुझाव दिएको छ । संगठनले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै निर्णय सच्याउन आग्रह गरेको हो । मुख्य कार्यालय, विराटनगरमा रहेको नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष पूर्व डिएसपी बद्री विक्रम थापाको नेतृत्वमा पूर्व प्रहरी संगठनले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव मार्फत प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।
२०७२ सालमा कैलालिको टिकापुरमा घटेको घटनामा १ बालक सहित ७ जना प्रहरीको विभत्स हत्या भएको थियो । राज्यले टिकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरीलाई किटान गरेको थियो । न्यायलयले चौधरीलाई जन्मकैदको फैसला गरेको थियो ।
८ वर्षदेखि जेल जीवन विताइ रहेका चौधरीलाई १६औं गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफि दिएको छ । गणतन्त्र दिवसककै दिन सोमबार चौधरी जेलबाट रिहा भएका छन् । सर्वोच्च अदालतले निर्मम अत्याको दोषी ठहर गरिसकेको अवस्थामा सरकारले विधि, प्रक्रिया र कानुन मिचेर चौधरीलाई आम माफी दिने गरेको निर्णय सच्याउन पूर्व प्रहरी संठननले सरकारलाई आग्रह गरेका हुन् ।
आम सुरक्षाण्कर्मीको मनोबल गिर्ने र हत्याका पिडितहरु आफ्लाई असुरक्षित महसुस गरेर थप पिडा बोक्ने भएकोले आम माफीको निर्णय बारे पुर्नविचार गर्न सरकारलाई पूर्व प्रहरी संगठनले सुझाव दिएको छ । संगठनका सल्लाहकार पूर्व प्रहरी रामकुमार श्रेष्ठ र संगठनका विराटनगर महानगर अध्यक्ष कविन्द्र कार्की सहित ४० भन्दा बढि पूर्व प्रहरी सरकारलाई ज्ञपानपत्र बुझाउन मंगलबार जिल्ला प्रशासन कार्यलय मोरङ पुगेका थिए ।
नेपाल पूर्व प्रहरी संगठन विराटनगरको ज्ञापन पत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी यादवले आफुले बुझेको ज्ञापन पत्र गृहमन्त्रालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाडौंमा पठाइ दिने बताए ।