आलु प्याजमा लगाइएको भ्याट कर हट्दैन – अर्थमन्त्री डा. महत

  • चिरफार डटकम, विराटनगर ९०७  पटक हेरिएको

सोमबार, आषाढ ०४, २०८० समय : १६:०८:२३ , १ वर्ष अगाडि

संघिय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) नहट्ने स्पष्ट पारेका छन् । मोरङ व्यापार संघले सोमबार विराटनगरमा आयोजना गरेको ६६ साधारण सभामा संघका अध्यक्ष नविन रिजालले आलु प्याजमा लगाइएको भ्याट कर खारेज गर्न गरेको मागलाई अर्थमन्त्री डा. महतले खारेज गरिदिएको हो ।

संघिय सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत आलु र प्याजमा १३ प्रतिशत भ्याट कर लागुगरेको हो । तर सरकारले बजेट वाचन गरेकै दिनदेखि भ्याट कर लागु हुन्छ । संघिय सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका थिए । र त्यही दिनदेखि आलु र प्याजमा १३ प्रतिशत भ्याट कर लागु भएकोले आलु र प्याजको भाउ बढेको छ ।

अर्थमन्त्री डा. महतले कृषि प्रधान देश नेपालमा स्थानिय उत्पादनलाई बढावा दिन भारतबाट आयात भईरहेको आलु र प्याजमा १३ प्रतिशत भ्याट कर लागु गरिएको बताए । कृषि प्रधान देशमा अझैपनि आलु र प्याज आयात गर्नु पर्ने अवस्था रहेकोले त्यसलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन र नेपाली उत्पादन वृद्धिका लागि भ्याट कर लागु गरिएको डा. महतले बताए ।

सरकारले आलु र प्याज बाहेक स्याउमा पनि १३ प्रतिशत भ्याट कर लागु गरेको छ । मोरङ व्यापार संघको ६६ औं साधारण सभामा पूर्वक्षेत्रका उद्योगी व्यवसायीले अर्थ मन्त्री डा. महतसमक्ष तेर्साएको प्रश्नको जवाफ दिदैं अर्थ मन्त्री डा. महतले चाडै नै विराटनगर कमब्याक गर्ने बताए । पहिलो स्थानमा रहेको विराटनगर यतिखेर सातौं स्थानमा झरेको छ । अर्थ मन्त्री डा. महतले विराटनगरलाई औधोगिक पहिचान स्थापित गराउने गरी पहिलेकै स्थानमा ल्याउने आसवासन दिए ।