- ब्रह्ममदेव यादव, विराटनगर ११२४ पटक हेरिएको
सोमबार, साउन ०१, २०८० समय : १८:२६:२० , १ वर्ष अगाडि
विराटनगरको लक्ष्मीनारायण मन्दिरमा मंगलबारदेखि १ महिने कार्यक्रम सुरु हुँदैछ । कार्यक्रममा नेपाल र भारतका गरी विभिन्न शक्तिपिठका १५ देखि २० हजार धर्मानुरागीहरुको सहभागिता रहने छ । विराटनगर–१२ पाञ्चाली स्थित लक्ष्मीनारायण मन्दिरमा साउन २ गते मंगलबारदेखि सुरु हुन लागेको १ महिने कार्यक्रममा भागवतपुराण, वाल्मिकी रामायण, विष्णुपुराण, भागवतगीता लगायतका कार्यक्रम संचालन हुने छ । कार्यक्रम साउन ३१ गतेसम्म चल्ने छ ।
लक्ष्मीनारायण मन्दिर स्थापना गर्ने कृष्णप्रपन्नचार्यको १ सय वर्ष पुगेको अवसरमा मन्दिर व्यवस्थापन समितिले भव्य शताब्दी महोत्सव २०८० को आयोजना गर्न लागेको हो । मन्दिरका स्वामी अच्यूत प्रपन्नचार्यले सोमबार पत्रकार सम्मेलन गरेर १ महिने कार्यक्रम संचालन गर्न ३१ लाख भन्दा बढि रकम खर्च हुने जानकारी गराए ।
भागवत कर्ता यज्ञमानबाट २२ लाख, दाताबाट १० लाख र १ लाख धर्मावलम्बीबाट संकलन गरेर ३३ लाखभन्दा बढि रुपैयाँ आम्दानी हुने र खर्च कटाएर बचेको रकम मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा हुने स्वामी प्रपन्नचार्यले बताए ।
१ महिने कार्यक्रमको दौरान लक्ष्मीनारायण मन्दिरले विराटनगर महानगरपालिका क्षेत्रमा बसोवास गरिरहेका ९० देखि १०० वर्ष उमेर पुरा गरेका १०० भन्दा बढि जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको कार्य तालिका सार्वजनिक गरेको छ । यस बाहेक लक्ष्मीनारायण मन्दिरले विराटनगरको केशलिया नदिमा डुबेर बेपत्ता भईरहेका व्यक्तिहरुको स्मरणमा पुजापाठ गर्ने कार्यक्रम तय गरेका छन् ।