- चिरफार डटकम, विराटनगर ९६० पटक हेरिएको
बुधबार, साउन ०३, २०८० समय : २१:३९:०१ , १ वर्ष अगाडि
दोस्रो तथा तेस्रो देशबाट सामान आयतकर्ता व्यवसायी अन्यनाका तर्फ भागेपछि विराटनगर भन्सार कार्यालयको राजश्व असुली घटेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ६० अर्ब ३ करोड ५२ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३३ अर्ब १० करोड रुपैयाँ मात्रै राजश्व असुली गरेको छ । जुन लक्ष्यको तुलनामा ५५ प्रतिशतले मात्रै राजश्व असुली हो ।
कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा असुली गरेको राजश्व भन्दा १६ प्रतिशतले कम राजश्व असुली हो । विराटनगर भन्सार कार्यालयको राजश्व असुली निरन्तर घट्दो क्रममा छ । विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत पदको जिम्मेवारी सम्हालेका ज्ञानेन्द्रराज ढकालको उच्श्रृखल गतिविधिको कारण दोस्रो तथा तेस्रो देशबाट सामान आयात गरिरहेका व्यवसायी अन्य नाकातर्फ पलायन भएपछि विराटनगर भन्सार कार्यालयको राजश्व असुली घट्दो क्रममा छ ।
सामान आयात कर्ता व्यवसायी सँग भन्सार प्रमुख ढकालले चलनचल्ती र ऐन विपरित ५०० प्रतिशतसम्म थप राजश्व असुली गर्न थालेपछि सामान आयत कर्ता व्यवसायी देशको अन्य नाकातर्फ पलायन भएका छन् । जसका मुख्य जिम्मेवार भन्सार प्रमुख ढकाल रहेका छन् । र उनकै कारण विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा ५३ प्रतिशतले मात्रै राजश्व असुली गर्न सकेको छ । देशको अर्थतन्त्रलाई धारासाही पार्न र राजश्व असुलीमा निराशा ल्याउनमा ढकाल जिम्मेवार रहेकोले अविलम्ब उनलाई विराटनगर भन्सार कार्यालयबाट हटाउनु पर्ने आवाज उठन थालेका छन् ।