- चिरफार डटकम, विराटनगर ४१३ पटक हेरिएको
शुक्रबार, साउन १२, २०८० समय : १८:४०:०५ , १ वर्ष अगाडि
साउन १६ गतेभित्र नयाँ सरकार गठनकालागि दावी पेश गर्न राजनैतिक दललाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पत्रचार गरेका छन् । प्रदेश प्रमुख खापुङले शुक्रबार विज्ञप्ती जारी गर्दै साउन १६ गते बेलुका ५ बजेभित्र नयाँ सरकार गठनकालागि दावी पेश गर्न दलहरुलाई पत्रचार गरेको हो । प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनको दावी पेश गर्न दलहरुलाई समय सिमा तोकेको हो । सवोच्च अदालतको इजलासले मुख्यमन्त्री उद्धव थापालाई असंवैधानिक घोषित गरेपछि कोशी प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदियदलका नेता उद्धव थापा २२ दिन अघि नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतकालागि ४७ सांसदको आवश्यकता पर्छ । ४७ सांसदकै हस्ताक्षरमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जसमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका थिए ।
जसका विरुद्ध नेकपा एमाले कोशी प्रदेश संसदिय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सभामुखको हस्ताक्षरमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न पाईदैन भन्दै दायर गरेको रिटलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । कोशी प्रदेश सभामा नेकपा एमाले संग ४० र राप्रपा संग ६ गरेर ४६ सांसद छ । बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्छ । कोशी प्रदेश सभामा बहुमत सावित गर्न नसकेपछि नेकपा एमाले संसदिय दलका नेता तथा पूर्व मुख्यमन्त्री कार्की पद मुक्त भएका थिए ।