- ब्रह्मदेव यादव, विराटनगर १४१ पटक हेरिएको
बिहिबार, मंसिर ०३, २०८३ समय : १५:२३:०८ , १५ घन्टा अगाडि
कथा वाचिका तथा सनातन हिन्दु धर्मका प्रचारक राधिका दासीले सडक बालबालिकाका लागि शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सहयोग रकम जुटाउन श्रीमद् भागवत पुराणको आयोजना गर्न लागेको छ ।
झापा जिल्लाको कनकाई नगरपालिकाको वडा नं. ६ स्थित मंसापुरमा राधिका दासीले राधिका फाउण्डेशन सञ्चालनका लागि साढे ३ बिग्घा क्षेत्रफल जग्गामा आश्रम निर्माण गरिरहेको छ ।

राधिका दासीले देशभरी सडकमा रहेका बालबालिकाहरूलाई उद्धार गरेर फाउण्डेशनको आश्रममा राखेर भरण पोषण सहित उच्च शिक्षा प्रदान गरेर देशको असल नागरिक बनाउने इच्छा राखेको छ ।
फाउण्डेशनले ५ करोड रुपैयाँको लागतमा पहिलो चरणमा ७० जना बालबालिका अटाउने गरी आश्रम निर्माण गरिरहेको छ । फाउण्डेशनले २ करोड ६५ लाख रुपैयाँ खर्चेर आश्रमको संरचना निर्माणको काम पुरा गरेको छ । र संरचनालाई पूर्णता दिन थप १ करोड ५० लाख रुपैयाँको आवश्यकता परेको छ ।
त्यही सहयोग रकम जुटाउन कथा वाचिका राधिका दासीले यही २०८३ मंसिर १२ गतेदेखि २१ गतेसम्म फाउण्डेशन निर्माण स्थल झापाको कनकाई नगरपालिका–६ मा श्रीमद् भागवत पुराण आयोजना गर्न लागेको छ ।
श्रीमद् भागवत पुराणमा अत्याधिक संख्यामा भक्तजनलाई आमन्त्रण गर्ने र भक्तजनबाट प्राप्त सहयोग रकमले आश्रम निर्माण गर्ने कथा वाचिका राधिका दासीले लक्ष्य राखेको छ ।

कथा वाचिका राधिका दासीले बुधवार विराटनगरमा पत्रकार सम्मेलन गरेर श्रीमद् भागवत पुराणमा सहभागिता जनाउन सम्पूर्ण विराटनगरवासीलाई चुलो निम्तो गरेको छ ।
कथा वाचिका राधिका दासीले कथा वाचनबाट सडक बालबालिकालाई भरण पोषण सहित उच्च शिक्षा प्रदान गर्न सक्ने अवस्था नरहेकोले थप सहयोग रकम जुटाउन कथा वाचनको आयोजना गर्न लागेको बताए ।
कथा वाचिका राधिका दासीले कथा वाचनमा सहभागिता जनाउन देशको ४७ वटा जिल्लाका भक्तजनलाई निमन्त्रणा गरिसकिएको र छुटेको जिल्लाका भक्तजनलाई निमन्त्रणा गर्ने क्रम जारी रहेको बताए । नेपाल र भारतका सनातन हिन्दु धर्मावलम्बीहरूलाई कथा वाचनमा सहभागिता जनाउन निमन्त्रणा गरिएको कथा वाचिका दासीले बताए ।
भारतको सिक्किम र असमका मुख्यमन्त्रीलाई कथा वाचन कार्यक्रममा निमन्त्रणा गरिएको र उनीहरू कथा वाचन कार्यक्रममा सहभागिता जनाउने आश्वासन पाएको कथावारिका दासीले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुली कथा वाचिका दासीको पत्रकार सम्मेलनमा सहभागी थिए ।
नेपाल अग्रवाल सभा विराटनगरका पूर्वअध्यक्ष उद्योगी एवं समाजसेवी देवकिनन्दन अग्रवालले कथा वाचिका राधिका दासीको पत्रकार सम्मेलनको संयोजन गरेका थिए । जुन पत्रकार सम्मेलनमा विराटनगरका उद्योगी, व्यवसायी सहित सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।