हुलाकी राजमार्गका ठेकेदारलाई ७ दिने अल्टिमेटम

  • ब्रह्मदेव यादव, विराटनगर ६२१  पटक हेरिएको

मंगलबार, साउन २३, २०८० समय : १८:५२:२८ , १ वर्ष अगाडि

हुलाकी राजमार्ग निर्देशनालय इटहरीले सडक निर्माण कम्पनीका ठेकेदारलाई ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थिति हुन अल्टिमेटम दिएको छ । ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थिति नभएको खण्डमा ठेकेदार कम्पनीलाई कालो सुचिमा राखेर कारवाही गर्ने निर्देशनालयले परिपत्र जारी गरेको छ । निर्देशनालयका निर्देशक विजय थापाले हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएका श्रेष्ठ निर्माण कम्पनी हेटौंडालाई पत्रचार गरेर ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थिति नभए कम्पनीलाई कालोसुचिमा राखेर कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको छ ।

कोशी प्रदेशका सांसद भीम पराजुली र निर्देशनालयका निर्देशक विजय थापा बिच भएको कुराकानी अनुसार श्रेष्ठ निर्माण कम्पनी हेटौंडाका संचालकलाई ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थिति हुन अल्टिमेटम दिईएको विराटनगरको अनिश्चितकालिन शान्तिपूर्ण धर्नाको नेतृत्व गरिरहेको कटहरी उद्योग वाणिज्य संघका अध्यक्ष एवं युवा व्यवसायी अरविन्द शर्माले बताए ।

कटहरीको सिंघिया नदीदेखि फुल चोकसम्मको सडक मार्ग निर्माण गर्ने ठेकेदारी श्रेष्ठ निर्माण कम्पनीले पाएको छ । कम्पनीले १ अर्ब रुपैयाँमा सडक निर्माण गर्ने ठेक्का पाएको हो । तर कम्पनीले बोलकबोल गरेको समय सिमा सक्न २ महिना मात्र बाँकी रहदा ११ प्रतिशत काम गरेर ११ करोड रुपैयाँ भुक्तानी लिइसकेका छन् । र कम्पनीले निर्माण कार्य छोडेर सम्पर्क विहिन अवस्थामा छ । कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतले हुलाकी राजमार्ग निर्माण हुनुपर्ने माग राखेर धर्नामा बसिरहेका आन्दोलनकारीबारे जिल्ला प्रशासन कार्यालय मोरङ बेखबर रहेकोमा आपत्ती प्रकट गरे ।

पूर्वअध्यक्ष कामतले सिंघिया नदीदेखि फुल चोकसम्मको निर्माण कार्य अविलम्ब सुचारु नभए कटहरीमा यातायात अवरुद्ध पार्ने बताए । हुलाकी राजमार्ग निर्माण कार्य अगाडी बढाउनु पर्ने माग गर्दै कटहरी बासीले नागरिक संघर्ष समिति गठन गरेर अनिश्चित कालिन शान्तिपूर्ण धर्नाकार्यक्रम संचालन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रम निरन्तर अगाडी बढि रहेको छ । प्रत्येक दिन बिहान १० बजेदेखि ५ बजेसम्म धर्ना कार्यक्रम संचालन हुने गरेको छ । हुलाकी राजमार्ग निर्देशनालय इटहरीका निर्देशक बिजय थापाले हुलाकी सडक मार्ग निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोडन नजिक पुगेको बताए ।