“विभेदकारी शिक्षा विधेयक सच्याउ”

  • चिरफार डटकम, विराटनगर ५५३  पटक हेरिएको

बिहिबार, साउन २५, २०८० समय : १६:५६:१६ , १ वर्ष अगाडि

निजी विद्यालयहरुको तीन ठुला संगठनले विद्यार्थीहरुलाई स्कुल कलेजमा अध्ययन गरी रहेको हेर्न चाहने हो भने विभेदकारी प्रस्तावित शिक्षा विधेयक २०८० लाई सच्याउन माग गरेका छन् । नेशनल प्याब्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारी, हिसान मोरङका अध्यक्ष अमित ढकाल र प्याब्सन मोरङका अध्यक्ष प्रेम सिंह सुवालले विहीबार शिक्षा समन्वय ईकाई मोरङका प्रमुख टंकप्रसाद गौतम मार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै विभेदकारी प्रस्तावित शिक्षा विधेयकलाई सच्याउन माग गरेको हो ।

 

निजी विद्यालयहरुको तीनवटा संगठनले विहीबार नै कोशी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा ध्यानाकर्षणपत्र बुझाएका छन् । हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का र हिसान कोशी प्रदेश सचिव दिपेश बास्तोला कार्यक्रममा सहभागि थिए । निजी विद्यालयहरुको तीन ठुला संगठनहरुले साउन २८ गतेदेखि देशभरीका विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने आवहान गरेका छन् ।

भदौं १ गतेदेखि निजी विद्यालयहरुले सार्वजनिक स्थलमा सवारी साधन पार्किङ गर्ने घोषणाका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले प्रस्तावित शिक्षा विधेयक २०८० मार्फत देशभरी कम्पनीमा दर्ता भएर सञ्चालन भई रहेका निजी विद्यालयलाई गुठी मार्फत सञ्चालन गर्ने तयारी गरेको छ । जसको निजी विद्यालयका सञ्चालकहरुले खुलेर विरोध गरेको छ ।