कोशी प्रदेश नामकरण सच्याउने नेकपा माओवादी केन्द्रको प्रतिबद्धता

  • ब्रह्मदेव यादव, विराटनगर ५९५  पटक हेरिएको

बिहिबार, साउन ३२, २०८० समय : १६:४३:३३ , १ वर्ष अगाडि

सत्ताघटक नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको नामकरण सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै पार्टीले कोशी प्रदेश नामकरणको पक्षमा मतदान गरेर ठुलो गल्ती गरेको निर्णय प्रति जनतासँग क्षमायाचना मागेका छन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर २०७९ साल चैत्र १७ गते प्रदेशसभाको बैठकमा तत्कालिन १ नं. प्रदेशलाई कोशी प्रदेश रुपान्तरण गर्दा कोशी प्रदेशको पक्षमा मतदान गरेर पार्टीले ठुलो गल्ती गरेको निर्णय प्रति क्षमायाचना मागेका हुन् । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटिका अध्यक्ष हर्कबहादर नेम्बाङ (मिक्सो) ले पार्टीको कोशी प्रदेश समितिको साउन ३१ गते सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्दै कोशी प्रदेश नामाकरण सच्याउने प्रस्ताव बहुमतले पारित भएको जानकारी गराए ।

अध्यक्ष नेम्बाङले भनेः पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्ने प्रस्ताव बहुमतले पारित भएको छ । र अब पार्टी कोशी प्रदेश नामकरण सच्याउने दिशातर्फ अगाडी बढेको छ । २०७९ चैत्र १७ गते प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामकरणको पक्षमा मतदान गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेश सभामा कोशी प्रदेशको पक्षमा ८२ मत खसेको थियो । जुन दुई तिहाई भन्दा बढि मत हो ।

जुन निर्णयप्रति असहमती जनाउदै पहिचान पक्षधरहरु आन्दोलित छन् । र पछिल्लो समय पहिचान पक्षधरले कोशी प्रदेशमा बेग्लै पार्टी गठन गरेर अगाडी बढ्ने गरेको निर्णयप्रति संकोचित भएका नेकपा माओवादी केन्द्रले आपतकालिन रुपमा प्रदेश कमिटिको बैठक बोलाएर कोशी प्रदेश नामकरण सच्याउने निर्णय गरेको हो । बैठकमा कोशी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव) को सहभागिता रहेको थियो ।