“लागुऔषध नियन्त्रणका लागि इप्रका रानीले सार्वजनिक गर्‍यो विशेष कार्ययोजना”

  • ब्रह्मदेव यादव, विराटनगर ५९३  पटक हेरिएको

शुक्रबार, भाद्र १५, २०८० समय : १६:३१:२९ , १ वर्ष अगाडि

लागु औषधको सेवन र अवैध ओसारपोसार नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय रानीले विशेष कार्ययोजनाका साथ अगाडी बढ्ने तयारी गरेको छ । लागुऔषध सेवन कर्ता चोरी तस्करी तथा लुटपाटमा संलग्न हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय रानीले विशेष कार्ययोजना तयार पारेको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुख, प्रहरी निरिक्षक संदिप बेल्वासेले शुक्रबार पत्रकार सम्मेलन गरेर लागुऔषधको सेवन ओसारपोसार नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक गरेको हो ।

२०७२ सालको ब्याच समूहबाट नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक पदबाट जागिर सेवामा प्रवेस गरेका बेल्वासे २०७५ सालमा खुल्ला प्रतिपर्धाबाट प्रहरी निरिक्षकमा बढुवा भएको प्रहरी अधिकृत हुन् । अर्धखाँची जिल्ला घर भएका प्रहरी निरिक्षक बेल्वासे अर्धखाँची, बाँके पछि जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गत इलाका प्रहरी कार्यालय रानीको नेतृत्व सम्हालेका हुन् ।

भाद्र १० गतेदेखि इलाका प्रहरी कार्यालय रानीको प्रहरी प्रमुखको नेतृत्व सम्हालेको ६ दिन पछि शुक्रबार पत्रकार सम्मेलन गरेर नेपाल भारतको सिमान्त क्षेत्र अन्तर्गतको प्रहरी कार्यालयलाई सेवा प्रवाहमा नमुना प्रहरी कार्यालय बनाउने घोषणा गरेका छन् । केही दिन अगाडी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेलले समेत आफुले गर्ने कामको कार्य योजनामा हस्ताक्षर गरेका छन् । र आफ्ना मातहतका प्रहरी कार्यालयका इन्चार्जहरुलाई गर्ने कामको बारेमा हस्ताक्षर गराई रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीको नेतृत्व सम्हालेको लगत्तै प्रहरी निरिक्षक बेल्वासेले सिमान्त क्षेत्र रानी नाकाबाट हुने गरेको तस्करीमा बालबालिकाको प्रयोग भई रहेको सूचना प्राप्त भएकोले त्यसलाई नियन्त्रण गर्ने अभियान थालिएको बताए ।