- ब्रह्मदेव यादव, विराटनगर ५०० पटक हेरिएको
आइतबार, आश्विन ०७, २०८० समय : १८:३६:४२ , १ वर्ष अगाडि
सिल प्याक सिलिण्डरमा ग्यास नभएपछि कोशी ग्यास उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले आइतबार मोरङको बुढीगंगा गाउँपालिकाको वडा नं. ४ स्थित निमुवामा सञ्चालित कोशी ग्यास उद्योगको अनुगमन गर्दै खाली ग्यास सिलिण्डर बिक्री गर्ने उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।
१५ केजी ४ सय ग्रामको सिलिण्डरमा १४ केजी २ सय ग्राम हुनु पर्ने ठाउँमा ग्यास नै नभएको भेटिएपछि उद्योगलाई २ लाख रुपैयाँ कारवाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतले जानकारी गराए । विराटनगर–९ ट्राफिक चौक निवासी अन्जना सिंहले कोशी ग्यासका बिक्रेता न्यु हिमाल मार्केटिङबाट खरिद गरेको सिल प्याक ग्यास सिलिण्डर खाली भेटिएको थियो ।
कोशी ग्यास उद्योगका प्रबन्धक सतिश उपाध्यायले सरकारी कर्मचारीको अगाडि केही नलाग्ने भएकोले उद्योग सञ्चालन गर्नका लागि २ लाख रुपैयाँ जरिवाना तिरेको बताए ।