- चिरफार डटकम, विराटनगर ४५६ पटक हेरिएको
मंगलबार, आश्विन ०९, २०८० समय : १८:४४:४० , १ वर्ष अगाडि
गुणस्तर तथा नापतौल कार्यालयले विराटनगरको बरगाछी चाँदनीचोक स्थित निरौला हार्डवेयर पसलका सञ्चालकलाई २५ हजार रुपैयाँ जरिवाना गरेका छन् । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख मनोजकुमार पोखरेल नेतृत्वको अनुगमन टोलीले उपभोक्तालाई ठगी गरेको निष्कर्ष निकाल्दै निरौला हार्डवेयर पसलका सञ्चालकलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
पसलका सञ्चालक अन्नत निरौलाले सरकारी स्वीकृति नलिकन हार्डवेयर पसल सञ्चालन गरेको तथा काँटाको जाँचपास नगराइकन सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको विषयलाई आधार बनाएर कार्यालयले कारवाही गरेको हो । हार्डवेयर पसल सञ्चालन गर्नका लागि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरबाट स्वीकृति लिनु पर्ने तथा काँटाको कार्यालयबाट जाँचपास गराउनु पर्ने कानुनी व्यवस्था रहेको छ । तर हार्डवेयर पसलका सञ्चालक निरौलाले सरकारी स्वीकृति बिना नै पसल सञ्चालन गरिरहेका थिए ।
कार्यालयले सोमबार सुनसरीको इटहरी स्थित २ वटा ग्यास उद्योगको अनुगमन गरेका छन् । कार्यालय प्रमुख पोखरेलले प्रिमा ग्यास उद्योग र सुगम ग्यास उद्योगको अनुगमन गरेको बताए । ग्यास उद्योगमा अनुगमन गर्दा कुनै किसिमको कमजोरी नभेटिएको प्रमुख पोखरेलले बताए । केही दिन अगाडि मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ४ स्थित निमुवामा सञ्चालित कोशी ग्यास उद्योगमा सिल प्याक ग्यास सिलिण्डर भित्र ग्यास नभेटिएपछि अनुगमन टोलीले २ लाख रुपैयाँ जरिवाना गरेका थिए ।