दशैंमा कपडाको तस्करी 

  • ब्रह्मदेव यादव, विराटनगर ६५०  पटक हेरिएको

शुक्रबार, कार्तिक ०३, २०८० समय : १४:१४:५३ , १ वर्ष अगाडि

नेपालीहरूको महानपर्व विजया दशमीको किनमेलमा सर्वसाधारण नेपाली व्यस्त रहेको बेला कोशी प्रदेशमा भारतबाट नेपाल तर्फ प्रहरीकै मिलोमतोमा मोटो परिमाणमा कपडाको तस्करी भइरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरका नामुद कपडा कारोबारी बब्लु अग्रवाल, राजकुमार रौनियार र लक्ष्मण रौनियारले प्रहरीको मिलोमतोमा भारतबाट नेपाल तर्फ तस्करी गरेर कपडा भित्र्याइ रहेका छन् । राजकुमार रौनियार र लक्ष्मण रौनियार दाजुभाइ हुन् । र यिनीहरूले थोरै परिमाणमा भन्सार राजश्व तिरेर बाँकी मोटो परिमाणमा तस्करीको माध्यमबाट कपडा नेपाल भित्र्याइ रहेका छन् । जसको कारण नेपाल सरकारको मोटो परिमाणमा राजश्व गुमी रहेको छ ।

जुन कपडा तस्करीमा नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी राजेशनाथ बास्तोला र सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी अञ्जनी कुमार पोखरेलको प्रत्यक्ष संलग्नता रहेको छ । यस बाहेक सीमान्त क्षेत्रमा खटिएका नेपाल र सशस्त्र प्रहरीका मोरङ प्रहरी प्रमुखदेखि सीमानाकामा तैनाथ प्रहरी युनिटका प्रमुखदेखि सादा पोसाकमा परिचालित घुमुवा प्रहरीको कपडा तस्करीमा संलग्नता रहेको छ । विराटनगरका बब्लु अग्रवाल, कपडा कारोबारीमा संलग्न नामुद तस्कर हुन् । अग्रवालले भारतबाट नेपाल भित्र्याउने गरेको तस्करीको कपडामा प्रहरीको संलग्नता छ ।

अग्रवालले १ करोड रुपैयाँ बराबरको कपडा नेपाल भित्र्याउँदा १० देखि २० प्रतिशतसम्म भन्सार राजश्व तिर्ने र ८० प्रतिशत भन्दा बढि राजश्व छलेर प्रहरीको मिलोमतोमा कपडा तस्करीको कारोबारलाई निरन्तरता दिई रहेको छ । अग्रवालले १ पटक भन्सार राजश्व तिरेको प्रज्ञापनपत्र देखाएर पटक पटक तस्करीको कपडा विराटनगर भित्र्याइ रहेका छन् । अग्रवालको विराटनगरको बरगाछी सहित विभिन्न स्थानमा कपडाको गोदाम रहेका छन् । जुन गोदाममा १० करोड भन्दा बढिको तस्करीको कपडा रहेको कपडा कारोबारीमा संलग्न एक व्यवसायीले बताए ।

अग्रवालले भारतबाट नेपाल भित्र्याइ रहेको तस्करीको कपडा कोशी प्रदेशको राजधानी विराटनगरदेखि पहाडी जिल्लासम्म पुर्‍याएर बिक्री गरी रहेका छन् । यस बाहेक अग्रवालले तस्करीको कपडा काठमाडौंसम्म पुर्‍याई रहेका छन् । दाजुभाइ राजकुमार रौनियार र लक्ष्मण रौनियारले तस्करीकै माध्यमबाट मोटो परिमाणमा कपडा विराटनगर भित्र्याएर विक्री गरिरहेका छन् । त्यसमा पनि प्रहरीको संलग्नता रहेको छ । राजुकमार रौनियार विराटनगर भन्सार कार्यालयमा भन्सार प्रतिनिधिको रुपमा कपडादेखि अन्य सामान जाँचपास गरेर छुटाउने गरेका छन् । एक व्यवसायीको एक पटक सामान छुटाउदा त्यही प्रज्ञापनपत्र देखाएर पटक पटक तस्करीका कपडा प्रहरीको मिलोमतोमा विराटनगर भित्र्याइ रहेका छन् ।