रानी नाकामा पुनः लफडा सुरु 

  • ब्रह्मदेव यादव, विराटनगर ८४७  पटक हेरिएको

बुधबार, कार्तिक १५, २०८० समय : १७:३६:१३ , १२ महिना अगाडि

भारतसँग सिमाना जोडिएको नेपालको रानी नाकामा बुधबारदेखि पुनः लफडा सुरु भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरसँग सिमाना जोडिएको नेपाल भारतको मुख्य अन्तर्राष्ट्रिय सिमा नाका रानी नाकामा नेपाल सरकारको अर्थमन्त्रालयका कर्मचारी र गृहमन्त्रालयका प्रहरीसँग सर्वसाधारणको झडप सुरु भएको हो । दसैँको बेला खुकुलो रहेको रानी नाकामा तिहार अगाडि पुनः टाइट गरेपछि भारतको जोगबनी बजारबाट किनमेल गरेर विराटनगर फर्किरहेका सर्वसाधारण सँग रानी नाकामा भन्सार कर्मचारी र प्रहरीसँग झडप हुन थालेको हो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालको ठाडो हस्तक्षेप पछि भन्सार कर्मचारी र प्रहरीले बुधबार बिहानैदेखि जोगबनीबाट किनमेल गरेर विराटनगर फर्किरहेका सर्वसाधारणको रानी नाकामा सामान खोसाखोस गर्न थालेपछि दुवै पक्षबीच पटक पटक झडप भएको थियो । सीमान्त जोगबनी बजारबाट किनमेल गरेर फर्किएका सर्वसाधारणको सामान भन्सार कर्मचारीको उपस्थितिमा प्रहरीले खोसेपछि सायौँ सर्वसाधारण रानी नाकामा घन्टौँ धर्नामा बसेर आवतजावत ठप्प पारेका थिए ।

त्यसपछि भन्सार प्रशासन, प्रहरी प्रशासन र सर्वसाधारण गरी त्रिपक्षीय समझदारी बमोजिम धर्नामा बसिरहेका सर्वसाधारणको सामान फिर्ता गर्ने सम्झौता पछि धर्ना स्थगन भएको थियो । त्यसपछि वर्षौँदेखि जोगबनीबाट सामान ल्याएर विराटनगरमा बिक्री गर्दै जिविकोपार्जन गर्दै आई रहेका अपाङ्गहरू बुधबारदेखि नै रानी नाकामा धर्नामा बसेका छन् ।

अपाङ्गहरूले जिविकोपार्जनका लागि जोगबनीबाट ल्याएको सामान भन्सार राजश्व नतिरिकन विराटनगरमा बिक्री गर्न पाउनु पर्ने माग गर्दै रानी नाकामा धर्नामा बसेका छन् । उनीहरूले विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाललाई हटाउनु पर्ने सरकार समक्ष माग गरिरहेका छन् ।