अढाई सय करोड लगानीको बन्धन ब्राण्डको सिमेन्ट उद्योग बन्द

  • ब्रह्मदेव यादव, विराटनगर ८६४  पटक हेरिएको

सोमबार, पुष ०२, २०८० समय : १४:२१:०९ , १२ महिना अगाडि

अढाई सय करोड रुपैयाँको लगानीमा मोरङमा सञ्चालित बन्धन ब्राण्डको अल्ट्राटेक सिमेन्ट उद्योग बन्द भएका छन् । विराटनगरका युवा उद्यमी मनिष मारु, हरिबंश राठी लगायत १० जनाको समूहले ७ वर्षदेखि मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत हात्तीमुढा औद्योगिक क्षेत्रमा अल्ट्राटेक प्रा.लि. नामक सिमेन्ट उद्योग सञ्चालन गर्दै आइरहेका थिए । अल्ट्राटेक सिमेन्ट उद्योगबाट बन्धन ब्राण्डको सिमेन्ट उत्पादन गरेर बिक्री वितरण गरी रहेका थिए ।

छोटो समयमा बन्धन ब्राण्डको सिमेन्टले घर बनाउने नेपालीको मनजित्न सफल भएको थियो । उद्योगमा १ सय ७० करोड बैंक र ८० करोड १० जना सञ्चालकको गरेर २ सय ५० करोड रुपैयाँ लगानी रहेको थियो । मोरङ व्यापार संघका कार्यकारिणी समिति सदस्य तथा उद्योगका सञ्चालक मनिष मारुले नेपालमा सिमेन्ट उद्योग बढि खुलेको र उत्पादित सिमेन्ट बिक्री हुन छोडेकोले उद्योग बन्द गरेको बताए ।

चर्को बैंकिङ ब्याजदर र उत्पादित सिमेन्ट बजारमा बिक्री हुँदा पनि रकम उद्योग सम्म आइपुग्न वर्षौ वर्ष समय लाग्ने जस्ता कारणले उद्योग बन्द गर्नु परेको मारुको भनाई छ । सोमबार चिरफार डटकम सँग कुरा गर्दै उद्योगका सञ्चालक मारुले भने– उद्योग २ महिनादेखि बन्द भई सकेको छ । उद्योगमा कार्यरत ८० जना मजदुरलाई बिदाई गरी सकिएको छ ।

विराटनगरमा उद्योगको केन्द्रिय कार्यालय सञ्चालनमा रहेको र केही समयपछि केन्द्रिय कार्यालय पनि बन्द गर्ने तयारी भई रहेको मारुले बताए । नेपालमा आवश्यकता भन्दा बढि सिमेन्ट उद्योग खुलेका छन् । र उत्पादित सिमेन्ट बिक्री हुन छाडेपछि प्रायजसो सबै उद्योगले २५ प्रतिशतसम्म सिमेन्ट उत्पादन गरी रहेका छन् ।