बैदेशिक रोजगारको नाममा सामुहिक ठगी प्रकरण

४१ जनासंग ३ करोड असुली गरेर राजवंशी फरार

  • ... २४७  पटक हेरिएको

बिहिबार, माघ ०५, २०७९ समय : १३:४८:१३ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाका अजय राजवंशी ४१ जनासंग सामुहिक रुपमा ३ करोडभन्दा बढि रकम ठगी गरेर फरार भएका छन् । मोरङ र झापाका ४१ जनालाई जापान पठाइदिन्छु भनेर ७ जनाको नाममा बैंकमा रकम जम्मा गर्न लगाई ति सबै रकम लिएर राजवंशी फरार भएका हुन ।

जापानमा बैदेशिक रोजगारबाट फर्किएका राजवंशीले मोरङ र सुनसरीका ४१ जनासंग न्यूनतम ७ देखि १६ लाख रुपैयाँसम्म असुली गरेर फरार भएको हो । उनी काठमाडौंमा लुकेर बसेको पिडितको भनाई छ । पिडितले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर ठगिएको रकम फिर्ता दिलाइदिन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गुहारेका छन् ।

राजवंशीले चितवनका राजेन्द्र अधिकारी, धरानका मिनचिरा चाम्राकार, ज्योती घले, विद्या राजवंशी, कर्ण दवाडी, रन्जितकुमार राजवंशी र अनुराधा राजवंशीको नामबाट विभिन्न बैंकमा रकम जम्मा गर्न लगाएर ति सबै रकम लिएर राजवंशी फरार भएको हुन । फरार अजय राजवंशीका विद्या राजवंशी बहिनी हुन् । रन्जितकुमार राजवंशी र अनुराधा राजवंशी श्रीमान् श्रीमती हुन् ।

कतारमा काम गरिरहेका रंगेली नगरपालिका ९ का हरी राजवंशीलाई नातामा दाजु पर्ने अजय राजवंशीले जापान पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ असुली गरेका थिए । राजवंशीले ८ महिनाको अवधिमा सुनसरी र मोरङका ४१ जनासंग ३ करोडभन्दा बढि रकम असुली गर्न सफल भएका थिए ।

पिडितहरु मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ प्रहरी प्रमुख शान्तिराज कोइराला, इलाका प्रहरी कार्यालय रंगेलीदेखि बैदेशिक रोजगार विभागमा आफुहरु ठगिएको विषयमा निवेदन दर्ता गराएका छन् । तर कतैबाट कुनै किसिमको सुनवाही हुन सकेको छैन ।