- ... ३२९ पटक हेरिएको
बिहिबार, माघ ०५, २०७९ समय : १३:५२:३१ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
विराटनगर स्थित कोशी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा प्रकरणमा दोषीलाई कारवाही गर्न ३ सदस्यीय छानविन समिति बनेको छ । कोशी अस्पताल प्रशासनले विहीबार बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र शाखा अधिकृत रामप्रसाद नेपाल सदस्य रहेको ३ सदस्यीय छानबिन समिति गठन भएको हो ।
विराटनगर-८ का दिलीप मुखियाका १७ दिने शिशुलाई बुधबार अस्पतालमा उपचार गर्दा गर्दै मृत घोषणा गरिएको थियो । मृत घोषणा गरिएका शिशु अन्तिम संस्कारकालागि शमशानघाट पुर्याउर्दा शिशु जिवितै रहेको भेटिएपछि उनलाई थप उपचारको लागि विराटनगरकै गोल्डेन अस्पताल पुर्याएको थियो । र शिशुको गोल्डेन अस्पतालको आइसियू कक्षमा उपचार भईरहेको छ ।
कोशी अस्पतालको इमरजेन्सी कक्षमा कार्यरत मेडिकल अधिकृत डा. आकाश यादव, अहेब लक्ष्मण माझी र टिका भण्डारीले जिवितै शिशुलाई मृत घोषणा गर्दै घर पठाएका थिए । कोशी अस्पताल प्रशासनले ३ सदस्यीय छानबिन समिति गठन गरेर घटनामा दोषी ३ नै जनालाई समितिले प्रतिवेदन नबुझाएसम्म अस्पतालमा काम गर्न बन्देज लगाएको छ ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले ७ दिन भित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरिएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जिवित शिशुलाई मृत घोषणा गर्ने अस्पतालमा कार्यरत डाक्टरदेखि अहेबलाई कारवाही गर्ने गरी छानबिन समिति गठन भएको बताए ।