मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले विराटनगर कारागारका कैदी बन्दीलाई उपलब्ध गराए २ लाखको औषधि

  • ब्रह्मदेव यादव, विराटनगर ५८९  पटक हेरिएको

सोमबार, पुष २३, २०८० समय : १८:२७:११ , ९ महिना अगाडि

विराटनगरका दुई निजी क्षेत्रले विराटनगर कारागारका २ सय ५० भन्दा बढि बिरामी कैदी बन्दीका लागि २ लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराएको छ । मोरङ व्यापार संघ विराटनगर र नेपाल उद्योग परिसंघ कोशी विराटनगरले विराटनगर कारागारका कैदी बन्दीलाई २ लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराएको हो ।

मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, कार्यसमिति सदस्य गोपाल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी तथा नेपाल उद्योग परिसंघ कोशी विराटनगरका कार्यसमिति सदस्य अजय राठीले सोमबार विराटनगर कारागारका प्रमुख जेलर कृष्णहरी न्यौपानेलाई २ लाखको औषधि हस्तान्तरण गरेका थिए ।

विराटनगर कारागारमा रहेका २ सय ५० भन्दा बढि बिरामी कैदी बन्दीलाई चिकित्सकले परिक्षण पछि दिएको पुर्जा अनुसारको औषधि उपलब्ध गराइएको संघका उपाध्यक्ष अनिल साहले बताए ।

औषधि पाएपछि विराटनगर कारागारमा रहेका बिरामी कैदी बन्दीहरूले मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र नेपाल उद्योग परिसंघ कोशी विराटनगरका अध्यक्ष पवन सारडालाई धन्यवाद ज्ञापन गरेका छन् ।