सरकारी बिदाका दिन आन्तरिक राजश्व कार्यालय विराटनगर खुल्ने

  • चिरफार डटकम, विराटनगर ५१८  पटक हेरिएको

बिहिबार, पुष २६, २०८० समय : १६:४४:३६ , ९ महिना अगाडि

पुस २७ र २८ गते २ दिनसम्म सरकारी बिदा छ । पुस २७ गते शुक्रबार पृथ्वी जयन्तीको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा गरेका छन् । शनिबार पनि सरकारी बिदा छ । तर आन्तरिक राजश्व कार्यालय विराटनगरले सरकारी बिदाका दिन पनि कार्यालय खोलेर सेवाग्राहीलाई सेवा प्रदान गर्ने निर्णय गरेको छ । आन्तरिक राजश्व विभागले पुस २७ र २८ गते आफ्ना मातहतमा रहेका देशभरीकै आन्तरिक राजश्व कार्यालय खुल्ला राख्ने राजपत्रमा सूचना प्रकाशित गरेका छन् ।

आन्तरिक राजश्व विभागले राष्ट्रिय वाणिज्य बैंकलाई पत्राचार गरेर सरकारी बिदाको बेला २ दिनसम्म आन्तरिक राजश्व कार्यालय खुल्ला रहने भएकोले बैंक खोली दिन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०८०/०८१ को आय कर तर्फ पहिलो किस्ता रकम बुझाउन पुस मसान्तसम्मको उद्योगी व्यवसायीलाई समय अवधि दिएको छ ।

आय कर तर्फको ब्याज रकम बुझाउन समय अवधि ३ दिन बाँकी रहेको अवस्थामा सेवाग्राहीलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्नका लागि देश भरिकै आन्तरिक राजश्व कार्यालय खुल्ला राख्ने निर्णय गरेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले सरकारी बिदाको दिन कार्यालय र बैंक खुल्ला रहने भएकोले सेवाग्राहीलाई सेवा लिन आग्रह गरेका छन् ।

बिहीबार चिरफार डटकम सँग कुरा गर्दै आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले भनेः सरकारी बिदाको बेला २ दिन नै कार्यालय खुल्ला रहने छ । कार्यालय सँगै कार्यालय राष्ट्रिय वाणिज्य बैंक पनि खुल्ला रहनेछ । जसको कारण सरकारी बिदाको बेला उद्योगी व्यवसायीलाई आफ्नो कारोबारको विवरण बुझाउन सजिलो हुनेछ ।