बिचौलिया मार्फत सामान नछोड्न विराटनगर भन्सार कार्यालयलाई भन्सार विभागको परिपत्र

  • ब्रह्मदेव यादव, विराटनगर १०२७  पटक हेरिएको

बिहिबार, पुष २६, २०८० समय : १६:४६:२२ , ९ महिना अगाडि

भन्सार विभागले विराटनगर भन्सार कार्यालय सहित देशभरीका भन्सार कार्यालयलाई परिपत्र जारी गरेर बिचौलिया मार्फत उद्योगी तथा व्यापारी प्रतिष्ठानको सामान नछोड्न निर्देशनात्मक आदेश जारी गरेको छ । भन्सार विभागको निर्देशनात्मक आदेश पछि अब विराटनगर भन्सार कार्यालयबाट दोस्रो तथा तेस्रो मुलुकका लागि सामान आयात निर्यात गर्दा स्वयम् भन्सार एजेन्ट उपस्थित हुनु पर्ने अवस्था सृजना भएको छ ।

भन्सार एजेन्ट नेपाल र नेपाल बाहिर रहेको बेलामा समेत किर्ते हस्ताक्षर र छापको प्रयोग गरेर विराटनगर भन्सार कार्यालयबाट सामान जाँच पास भएर छुट्ने गरेका छन् । विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्ट उपस्थिति नभइकन भन्सार एजेन्टको नामबाट हस्ताक्षर र छापको प्रयोग गरेर सामान आयात निर्यात भइरहेको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस १७ गते भन्सार विभागलाई पत्राचार गरेर भन्सार एजेन्टको उपस्थितिमा मात्रै सामान आयात निर्यातको व्यवस्था मिलाउन परिपत्र गरेको छ । अख्तियारको परिपत्र पछि भन्सार विभागले पुस २३ गते विराटनगर भन्सार कार्यालय सहित देशभरीका भन्सार कार्यालयलाई निर्देशनात्मक आदेश पत्र पठाएर सामान आयात निर्यातको बेलामा भन्सार एजेन्टलाई अनिवार्य रुपमा उपस्थित गराउन भनेको छ ।

भन्सार नियमावली २०६४ को नियम ३७ को उपनियम ९ मा भएको भन्सार एजेन्टको व्यवस्था कार्यान्वयन गराउन भन्सार विभागले भन्सार कार्यालयहरूलाई निर्देशन दिएको छ ।