विराट व्यापार संघले २३ वर्ष यताकै भव्य साधारणसभाको आयोजना गर्दैछ

  • ब्रह्मदेव यादव, विराटनगर ९२०  पटक हेरिएको

बिहिबार, माघ ०४, २०८० समय : १८:४१:५८ , ९ महिना अगाडि

विराट व्यापार संघ विराटनगरले २३ वर्ष यताकै भव्य साधारण सभाको आयोजना गर्ने तयारी थालेका छन् । संघ स्थापना भएको २३ वर्ष पुरा भएको छ । संघमा अध्यक्ष पदको नेतृत्व सम्हाली रहेका नरेश खत्रीले संघ स्थापना भएको २३ वर्ष यताकै भव्य साधारण सभाको आयोजना गर्ने निर्णय गर्दै व्यापक रुपमा तयारी थालिएको छ ।

विराट व्यापार संघ विराटनगरले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रमुख अतिथि, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विशिष्ट अतिथि एवं संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका उच्च पदस्थ कर्मचारीलाई अतिथिको रुपमा निमन्त्रणा गरिएको छ । सबै राजनैतिक दलका नेताहरूलाई अतिथिको रुपमा कार्यक्रममा निमन्त्रणा गरिएको छ ।

निजी क्षेत्रको प्रतिनिधित्व गरी रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी, नेपाल उद्योग परिसंघ कोशी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र चेम्बर अफ कर्मशका पदाधिकारीहरूलाई कार्यक्रममा अतिथिको रुपमा निमन्त्रणा गरिएको छ । संघमा २ हजार ५ सय भन्दा बढि सदस्य रहेका छन् । र सबै सदस्यहरूलाई साधारण सभामा सहभागिता गराउने गरी निमन्त्रणापत्र वितरण भई रहेको संघका कार्यकारी अधिकृत धरणिधर निरौलाले जानकारी गराउनु भएको छ ।

विराटनगरको पिपलचोक स्थित कञ्चजङ्घा ब्याङ्केटमा विराट व्यापार संघ विराटनगरको १२औं साधारण सभा आयोजना गर्ने स्थान तोकिएको छ । यही माघ ११ गते साधारण सभा आयोजना गर्ने मितितय गरिएको छ । विराट व्यापार संघ विराटनगरलाई सहयोग गर्ने उद्योगी, व्यापारी र पत्रकारलाई साधारण सभामा सम्मान गर्ने कार्यक्रम रहेको छ ।