- ब्रह्मदेव यादव, विराटनगर ७५२ पटक हेरिएको
आइतबार, माघ ०७, २०८० समय : १५:५४:४२ , ९ महिना अगाडि
भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन हुनु भन्दा अगाडि विराटनगरमा निकालिएको कलश यात्रा र मोटरसाइकल र्यालीलाई भव्य स्वागत गरिएको छ । भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा भव्य राम मन्दिरको निर्माण कार्य भई रहेको छ । सन् २०२४, २२ जनवरी अर्थात २०८० माघ ८ गते सोमबार निर्माणाधीन राम मन्दिरको उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ । भारतमा भारतीय जनता पार्टी (बि.जे.पी.) को सरकार छ । सरकारको नेतृत्व गरी रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राम मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अयोध्याको विवादित जग्गामा अदालतको फैसला बमोजिम राम मन्दिरको निर्माण कार्य जारी छ । मन्दिरको निर्माण कार्य पुरा नभएसम्म मन्दिरको उद्घाटन गर्न मिल्दैन । तर सन् २०२४ मा भारतमा लोकसभाको निर्वाचन हुँदैछ । लोकसभा निर्वाचनमा हिन्दु धर्मावलम्बीहरूको मत तान्न राम मन्दिरलाई चुनावी मुद्दा बनाउन भारतीय जनता पार्टीले अधुरो निर्माणाधीन राम मन्दिरको उद्घाटन गर्न लागेको हो ।
भारतको सत्तारुढ गठबन्धन (एन.डि.ए.) ले राम मन्दिर उद्घाटनको भव्य स्वागत गरेका छन् । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन हुन लागेको पूर्वसन्ध्यामा विराटनगरमा हिन्दुवादी संघ संस्थाहरूको पहलमा खुशियालीको माहोल बनेको छ । विश्व हिन्दु परिषद् नेपाल मोरङ र रामजानकी मन्दिर विराटनगर–९ ले आइतबार संयुक्त रुपमा निकालेको कलश यात्रालाई विराटनगरवासिले भव्य स्वागत गरेका छन् ।
भारतको अयोध्याबाट कलश, विराटनगरको रामजानकी मन्दिरमा आइपुगेको छ । र त्यही कलशको अगुवाइमा विराटनगरमा कलश यात्रा निकालिएको हो । हिन्दु स्वयम् सेवक संघ नेपालका केन्द्रिय सहसचिव महेन्द्रप्रसाद साह, संघका कोशी प्रचारक मुकेशकुमार साह, विश्व हिन्दु परिषद् नेपाल मोरङका अध्यक्ष रमेशकुमार चापागाईं, उपाध्यक्ष जुगलकिशोर राठी, सचिव प्रमोद साह, कलश यात्रा कार्यक्रम संयोजक सविता अधिकारी, भगवानदास राठी, आलोक साह सहित विभिन्न मठमन्दिरका पिठाधिसदेखि पुजारी, बालबालिका, महिला तथा पुरुषहरूको बाक्लो संख्यामा सहभागिता रहेको थियो ।
विराटनगर–९ ठाकुरवाडी रोडस्थित रामजानकी मन्दिरको प्राङ्गणबाट आइतबार निस्किएको कलश यात्राले नगरक्षेत्रको परिक्रमा गर्दै पुनः मन्दिरमा पुगेर कलश यात्राको समापन भएको थियो । विश्व हिन्दु परिषद् नेपाल विराटनगर युवा विभागद्वारा शनिबार विराटनगरमा बाक्लो संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो । विराटनगर–९ बुधहाट चोकको पञ्चमुखी हनुमान मन्दिरबाट शनिबार निस्किएको मोटरसाइकल र्याली नगर क्षेत्रको परिक्रमा गरी रहेको बेला अतिथि सदन अगाडि गोल ग्रुपले भव्य स्वागत गरेका थिए ।
गोल ग्रुपका जितेन्द्र राठी, राजकुमार अग्रवाल, दिनेश चौरडिया लगायतका पदाधिकारीहरूले फुलले स्वागत गर्दै मिठाई वितरण गरेका थिए । पूर्वाञ्चल पेट्रोल पम्पका सञ्चालक उद्योगी एवं समाजसेवी अशोक अग्रवालले मोटरसाइकल र्यालीमा सहभागिता जनाएका व्यक्तिहरूलाई आफ्नै खर्चमा मिठाई वितरण गरेका थिए । राम मन्दिर उद्घाटन हुनु अघि विराटनगरमा उल्लासमय वातावरण बनेको छ । र विभिन्न हिन्दुवादी संघ संस्थाहरूले आफ्नै खर्चमा निःशुल्क रुपमा चियादेखि मिठाई र खाना वितरण गरी रहेका छन् ।