- ब्रह्मदेव यादव, विराटनगर ५७४ पटक हेरिएको
सोमबार, माघ १५, २०८० समय : १७:३३:३८ , ९ महिना अगाडि
नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले आफू सुध्रिन तयार रहेको उद्घोष गरेका छन् । म मात्र होइन नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको सम्पूर्ण उच्च पद श्रेणी प्रहरी अधिकृतदेखि कनिष्ट प्रहरी जवानलाई सुर्धान तयार रहेको बताए । कोशी प्रदेश प्रहरी प्रमुखको पद सम्हालेपछि सोमबार पहिलो पत्रकार सम्मेलन आयोजना गरेर डिआइजी खापुङले आफ्ना मातहतका प्रहरीलाई आजैका मितिदेखि सुध्रिन आव्हान गरेका छन् ।
आचरण विपरित काम गरेर दोषी ठहरिएमा कानुन बमोजिम कारवाही गर्ने डिआइजी खापुङले मातहतका प्रहरीलाई सुझाव दिएका छन् । कोशी प्रदेशमा चोरी, ठुलो समस्याको रुपमा देखिएको छ । अफ्रिकन देशमा चोरी गर्नेलाई ज्यान मार्ने परम्परा छ । तर नेपालमा चोरी विकराल समस्याको रुपमा देखा परेकोले कडा कानुनको आवश्यकता रहेको डिआइजी खापुङले बताए ।
सीमान्त क्षेत्रबाट हुने गरेको चोरी तस्करी, लागूऔषध ओसारपसार र हुन्डी कारोबारीलाई कडाइका साथ लागू गर्ने डिआइजी खापुङले प्रतिबद्धता व्यक्त गरे । कोशी प्रदेशको तेह्रथुम जिल्ला घर भएका डिआइजी खापुङ २०५६ सालमा जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय बेलबारी, नगर प्रहरी कार्यालय विराटनगरमा प्रहरी इन्सपेक्टरको रुपमा काम गरी सकेका छन् । र २३ वर्षपछि डिआइजीको रुपमा कोशी प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन् ।