- ब्रह्मदेव यादव, विराटनगर ४७६ पटक हेरिएको
बुधबार, माघ १७, २०८० समय : १६:१७:३१ , ९ महिना अगाडि
विराटनगरस्थित सुनसरी मोरङ सिचाई आयोजनाको केन्द्रिय कार्यालयमा मंगलबारदेखि अनिश्चितकालका लागि कर्मचारीहरूले तालाबन्दी गरेका छन् । आयोजनामा कार्यरत ३ सय भन्दा बढि अस्थायी, करार, ज्यालादारीका कर्मचारीले मंगलबारदेखि कार्यालयको मुख गेटमा तालाबन्दी गरेर धर्नामा बसेका छन् । आयोजनका अस्थायी, करार र ज्यालादारी कर्मचारीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागू गर्नुपर्ने माग गर्दै कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका छन् ।
माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने आन्दोलनको नेतृत्व गरी रहेको अखिल नेपाल अस्थायी, करार र ज्यालादारी कर्मचारी श्रमिक संघका अध्यक्ष दुर्गा राईले जानकारी गराएको छ । दशकौँदेखि सुनसरी मोरङ सिचाई आयोजना ज्यालादारी कर्मचारीको भरमा चलेको छ । आयोजनाको विभिन्न शाखा, उपशाखा केन्द्रिय कार्यालयको विभिन्न शाखामा काम गर्नेदेखि हेब्बी तथा साधारण गाडी चलाउने ड्राइभर ज्यालादारी पदमा कार्यरत छ ।
उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागू भएको खण्डमा बाच्ने अधिकारको ग्यारेन्टी हुने निष्कर्ष निकाल्दै आन्दोलनमा उत्रिएका छन् । सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रिएपछि आयोजनाको काम पूर्ण रुपमा ठप्प छ । आयोजनाका निमित्त आयोजना निर्देशक कैलाश श्रेष्ठले आन्दोलनरत कर्मचारी सँग वार्ता गर्न सिनियर डिभिजन इन्जिनियर अमरेन्द्रकुमार देवको संयोजकमा ५ सदस्यीय वार्ताटोली गठन गरेका छन् ।
इन्जिनियर नित्यानन्द झा, समाजशास्त्री रविकुमार साह, नायब सुब्बा हरिप्रसाद सुवेदी र लेखापाल रमेश पाण्डे वार्ताटोलीमा सदस्य रहेका छन् । वार्ताटोलीमा रहेका संयोजकदेखि सदस्यहरू काम विशेषले बाहिर रहेकोले बुधबार वार्ता हुन सकेन । आन्दोलन जारी छ ।