विराटनगर जुटमिललाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी

  • ब्रह्मदेव यादव, विराटनगर ८२३  पटक हेरिएको

मंगलबार, माघ २३, २०८० समय : १८:४२:१६ , ८ महिना अगाडि

विराटनगर जुटमिललाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेको छ । दशकौँदेखि विराटनगर जुटमिल पूर्णरुपमा बन्द अवस्थामा छ । जुटमिलको संरचना र मेसिनरी पार्टपुर्जा समेत जीर्ण अवस्थामा पुगेका छन् । सत्तागठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले केही दिन अगाडि देशको सातवटा रुग्न उद्योगलाई पुनः सञ्चालनमा ल्याउने इच्छा व्यक्त गरेका छन् ।

नेपालमा विदेशी लगानी भित्र्याउने र रुग्न उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी अनुरूप सरकारी प्रतिनिधि मण्डलले मंगलबार विराटनगर जुटमिलको अवलोकन तथा निरीक्षण गरेका छन् । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष केशव बस्नेतको नेतृत्वमा आएको भारतको बिडला समूहका जुट प्राविधिक विज्ञको टोलीले विराटनगर जुटमिलको अवलोकन तथा निरीक्षण गरेको हो ।

विराटनगर जुटमिल सञ्चालक समितिका पूर्वसदस्य किशोर बहादुर शाहीले सरकारी प्रतिनिधि मण्डलाई विराटनगर जुटमिलको वस्तु स्थिति र जुटमिलको भौतिक संरचना तथा मेसिनरी पार्टपुर्जाको बारेमा जानकारी गराएका थिए । विराटनगर जुटमिलको निरीक्षण पछि सरकारी प्रतिनिधि मण्डलका अध्यक्ष बस्नेतले मिल चल्न सक्ने अवस्था रहेको बताए । टोलीमा सहभागी भारतको बिडला समूहका ओबाइ इन्टरनेशनल गोल्डेन फाइबर टेक्नोलोजी कन्सलिङका जुट विशेषज्ञ जयन्तकुमार मुर्खजीले विराटनगर जुटमिललाई पुनः सञ्चालनमा ल्याउनका लागि नयाँ भवनको निर्माण र अत्याधुनिक प्रविधिको मेसिन जडानको आवश्यकता रहेको बताए ।

चिरफार डटकम सँग कुरा गर्दै मुखर्जीले भनेः विराटनगर जुटमिलको २ वटा ठूला प्लान्ट मध्ये एउटा प्लान्टमा रहेको मेसिनरी पार्ट पुर्जा ७० प्रतिशतसम्म काम लाग्ने अवस्थामा रहेको छ । ३० प्रतिशतभन्दा बढि नयाँ मेसिनरी पार्ट पुर्जाको जडान र ७० प्रतिशत पुरानो मेसिनको मर्मत सम्भार पछि विराटनगर जुटमिलको एउटा ठुलो प्लान्ट सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताए । अर्को ठुलो प्लान्टमा रहेको मेसिनरी पुनः रुपमा चल्न नसक्ने अवस्थामा रहेको छ । र अर्को प्लान्ट सञ्चालनका लागि नयाँ भवनको निर्माण सँगै नयाँ अत्याधुनिक प्रविधिको नयाँ मेसिन जडानको आवश्यकता रहेको बताए ।

नेपाल सरकारले विराटनगर जुटमिललाई निर्यात जुट उद्योगको रुपमा विकास गर्न चाहन्छ भने नयाँ भवन निर्माण र नयाँ मेसिन जडानका लागि विदेशी कम्पनी सँग सहकार्य गरेर मोटो रकम लगानी भित्र्याउन सक्छ । जसको लागि सरकारको इच्छा शक्तिको आवश्यकता रहेको भारतीय जुट प्राविधिक मुखर्जीले बताए । विराटनगर जुटमिल सञ्चालक समितिका पूर्व सदस्य किशोरबहादुर शाहीले विराटनगर जुटमिल सँग ६० देखि ७० बिघा जग्गा रहेकोले ति जग्गा भित्र जुट उद्योगको २ ठूला प्लान्ट सञ्चालन हुन सक्ने र १० हजार भन्दा बढि मजदुरले रोजगारी पाउने अवस्था रहेकोले सरकार आफ्नो निर्णयबाट पछाडि फर्किन नहुने बताए ।

सरकारले विराटनगर जुटमिलसहित ७ वटा रुग्न उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले ती उद्योगलाई आफै सञ्चालन गर्ने कि लिजमा सञ्चालन गर्न दिने कि पिपी मोडेलमा सञ्चालन गर्ने निर्णय सरकारले गर्नेछ ।