धेरै समयपछि विराटनगरमा जनवादी विवाह

  • ब्रह्मदेव यादव, विराटनगर ८०६  पटक हेरिएको

बुधबार, फाल्गुण ०२, २०८० समय : १५:३४:५८ , ८ महिना अगाडि

धेरै समय पछि बुधबार विराटनगरमा प्रणय दिवसको दिन एक जोडीको जनवादी विवाह सम्पन्न भएको छ । नेकपा एमाले स्थायी समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बरालका छोरा यशु बराल र एरिका निरौला बिच जनवादी विवाह भएको हो । विराटनगर–१२ का बेहुला बराल आइटी इन्जिनियर हुन् । मोरङ सुन्दरहरौंचा–४ का बेहुली निरौला काठमाडौं स्थित प्रभु बैंकमा जागिरे छिन् ।

२०८० फागुन २ गते प्रणय दिवसको दिन शिव–पार्वती, सत्यवान–सावित्रीकार्लमाक्र्स–जेनी तीन बेग्ला बेग्लै महान व्यक्तिको तस्बिरलाई साक्षी राखेर बराल र निरौलाको जोडीले आफ्नो प्रेमलाई जनवादी विवाह मार्फत सार्वजनिक गरेका छन् । नेकपा एमाले स्थायी समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बलारले २०५० सालमा जनवादी विवाह गरेका थिए । ठिक ३० वर्षपछि बरालका छोरा यशु बरालले जनवादी विवाह गरेका छन् ।

यस अघि संखुवासभाका हरि बैरागी, सिरहा–विराटनगरका रामरिझन यादव, प्रदिप पोखरेल, महेश रेग्मी, जीवन घिमिरे, गुरु बराल, डा. उद्धव पोखरेलले जनवादी विवाह गरेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्ला निराला कार्की, संघीय र प्रदेश सरकारका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरू बराल दम्पत्तिको जनवादी विवाहमा सहभागि भएका थिए । विराटनगर स्थित जैन भवनमा सम्पन्न जनवादी विवाहमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको बाक्लो संख्यामा सहभागिता रहेको थियो ।