मारवाडी प्रिमियर लिगलाई भव्य बनाउन मोटरसाइकल र्‍याली 

  • ब्रह्मदेव यादव, विराटनगर ५३४  पटक हेरिएको

मंगलबार, फाल्गुण १५, २०८० समय : १८:३४:३७ , ८ महिना अगाडि

बुधबारदेखि विराटनगरमा १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । क्रिकेट प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न प्रतियोगिता आयोजक समिति नेपाल अग्रवाल युवा मञ्चले मंगलबार विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । विराटनगर वासीलाई मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हेर्न आउने निम्तो दिने उद्देश्यका साथ मोटरसाइकल र्‍याली निकालिएको आयोजक समितिका चेयरमेन अभिषेक केडियाले जानकारी गराएका छन् ।

विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले मोटरसाइकल र्‍यालीको शुभारम्भ गरेका थिए । विराटनगरको मारवाडी सेवा सदनबाट विशाल संख्यामा निस्केको मोटरसाइकल र्‍याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै क्रिकेट प्रतियोगिता आयोजना स्थल विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुगेर समापन भएको थियो । बुधबार बिहान ७ बजे रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शनिबारसम्म चल्ने प्रतियोगितामा ५ टिमको सहभागिता रहेका छन् ।

प्रतियोगिताका विजेताले नगद ६१ हजार र उपविजेताले नगद २१ हजार सहित शिल्ड प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ११ लाख भन्दा बढि रकम खर्च हुने आयोजक समितिले जानकारी गराएको छ । मंगलबार मोटरसाइकल र्‍यालीमा नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, प्रतियोगिता आयोजक समितिका चेयरमेन अभिषेक केडिया, मुख्य संयोजक चेतन अग्रवाल, संयोजक अंकुर कनोडिया, संयोजक निशान्त अग्रवाल, स्पोन्सर राजेश बगडिया, राजनैतिक एवं समाजसेवी पवन सुराना लगायत १ हजार भन्दा बढि सर्वसाधारणको सहभागिता रहेको थियो ।