- चिरफार डटकम, विराटनगर ५६८ पटक हेरिएको
बुधबार, फाल्गुण १६, २०८० समय : १४:१६:३१ , ९ महिना अगाडि
विराटनगरमा बुधबारदेखि १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एम.पी.एल.) सुरु भएको छ । नेपाल अधिराज्य भरीबाट एक मात्र मारवाडी मेयर मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले अग्रवाल समाजको कुलदेवता अग्रसेन महाराजको पुजा गरेर क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा सुरु भएको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ५ टिमको सहभागिता रहेका छन् ।
शनिबारसम्म चल्ने क्रिकेट प्रतियोगिताको विजेताले ६१ र उपविजेताले २१ हजार नगद सहित ट्रफी प्राप्त गर्ने आयोजक समितिका चेयरमेन अभिषेक केडियालले बताए । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवालको अध्यक्षतामा भएको क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष अभिषेक तोदी, प्रतियोगिता आयोजक समितिका चेयरमेन अभिषेक केडिया, मुख्य संयोजक चेतन अग्रवाल, संयोजक अंकुर कनोडिया, संयोजक निशान्त अग्रवालको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्चको पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसवी राइटन टिमको सहभागिता रहेका छन् । प्रतियोगिताको पहिलो दिन बुधबार ३ वटा म्याच सम्पन्न भएका छन् । सबै म्याच १०/१० ओभरको खेलाउने गरेका छन् ।