मोरङ प्रहरीमा लेनदेन बन्द भएकै हो ?

  • ब्रह्मदेव यादव, विराटनगर १००३  पटक हेरिएको

बिहिबार, फाल्गुण १७, २०८० समय : १७:१२:५८ , ८ महिना अगाडि

मोरङ प्रहरीका प्रहरी प्रमुख एसपी नवराज कार्कीले अवैध लेनदेन बन्दको घोषणा गरेका छन् । २०८० फागुन ७ गतेदेखि मोरङ प्रहरी प्रमुखको नेतृत्व सम्हालेकै दिन एसपी कार्कीले मातहतका प्रहरी प्रमुख मार्फत जिल्ला भरीका प्रहरीलाई अवैध लेनदेन पूर्ण रुपमा बन्द गर्न उर्दी जारी गरेका छन् । मोरङ प्रहरीको उर्दीलाई बेवास्ता गर्ने मातहतका प्रहरी प्रमुखदेखि प्रहरी जवानलाई अवैध लेनदेन गरेको फेला परेको खण्डमा ठाउँको ठाउँ कारवाही चेतावनी दिएका छन् ।

मोरङ प्रहरी प्रमुख कार्कीको निर्देशनात्मक आदेश पछि केही हदसम्म अवैध लेनदेन बन्द भएका छन् । तर वर्षौँदेखि लेनदेनमा सक्रिय रहेका प्रहरीले एकै पटक अवैध लेनदेन गर्न छोडेका छैनन् । नेपाल भारतको अन्तर्राष्ट्रिय सिमानाका भारतको जोगबनीबाट किनमेल गरेर भन्सार नतिरी नेपाल आउने सर्वसाधारणबाट रानी नाकामा कार्यरत प्रहरीले अवैध लेनदेन गरी रहेका छन् । केही दिन अगाडिसम्म रानी नाकाको ढाटमा भन्सार नकाटेको मोटो रकम बराबरको सामान छोडिदिए बापत प्रहरीले केही रकम बुझ्ने गरेका थिए ।

पहिला आफैले अवैध रकम बुझ्ने प्रहरीले यतिखेर नजिकको पसलमा रकम राख्न लगाई त्यहाँबाट रकम बुझिरहेका छन् । रानी नाकाको छोटी भन्सार कार्यालयमा कार्यरत प्रहरीले नजिकको पसलमा रकम जम्मा गर्न लगाइ ड्युटी सकिसकेपछि दिनभरी जम्मा भएको रकम लिएर हिड्ने गरेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिने गरेका प्रहरीले प्रत्येक दिन अवैध रुपमा १० हजार भन्दा बढि रुपैयाँ असुली गरी रहेका छन् ।

यस विषयमा मोरङ प्रहरी प्रमुख एसपी कार्की जानकार छ की छैन भन्ने खोजी र चर्चाको विषय बन्न पुगेको छ । यद्यपि भारत सरकारले प्याज नेपाल आयातमा प्रतिबन्ध लगाएपछि चोरी तस्करीको बाटोबाट आइरहेको प्याज एसपी कार्कीले कडाइ पछि भन्सार काटेर नेपाल भित्री रहेकाछन् । तर एकाबिहानै देखि राती अबेरसम्म २ सय भन्दा बढि महिला पुरुष र बालबालिकाहरू चोरी तस्करीको बाटोबाट अवैध रुपमा नेपाल भित्र्याई रहेका खाद्यान्न सामग्रीका कारोबारीबाट प्रहरीले अवैध रुपमा रकम बुझिरहेका छन् । यस विषयमा मोरङ प्रहरी प्रमुख एसपी कार्कीको ध्यान जान जरुरी छ ।