- ब्रह्मदेव यादव, विराटनगर ५३७ पटक हेरिएको
शुक्रबार, चैत्र ०२, २०८० समय : १५:३२:०५ , ९ महिना अगाडि
विराटनगरमा दुई दिने रोजगार मेला सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको रोजगार मेलाको शनिबार समापन हुनेछ । २ सय भन्दा बढि बेरोजगारलाई रोजगार उपलब्ध गराउने गरी विराटनगर महानगरपालिकाले रोजगार मेलाको आयोजना गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुक्रबार विराटनगरको इको पार्कमा आयोजित रोजगार मेलाको उद्घाटन गरेको हो ।
मेयर कोइरालाले रोजगारका लागि विदेश जाने युवा युवतीलाई नेपाल मै रोजगार उपलब्ध गराउने उद्देश्यका साथ रोजगार मेलाको आयोजना गरेको बताए । २ सय ५० देखि ३ सय युवा युवतीलाई रोजगार उपलब्ध गराउने गरी मेलाको आयोजना गरिएको मेयर कोइरालाले बताए । विराटनगर महानगरपालिका क्षेत्रमा बसोवास गरी रहेका बेरोजगार युवा युवतीलाई रोजगारमा पहिलो प्राथमिकता दिन रोजगार दातालाई मेयर कोइरालाले आग्रह गरे ।
उपमेयर शिल्ला निराला कार्कीले बेरोजगार युवा युवतीले खोजेको रोजगारी र उद्योगी व्यवसायीले चाहेको जनशक्ति उपलब्ध गराउने उद्देश्यका साथ रोजगार मेलाको आयोजना गरिएको बताए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले देशमा रोजगारका लागि विदेश भौतारिने युवालाई नेपालमै रोजगार उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाले आयोजना गरेको रोजगार मेला फलदायी हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष सुरानाले ५ लाख रुपैयाँको लगानीमा उद्योग खोल्ने व्यवसायीलाई सम्पत्तिको स्रोत देखाउनु पर्ने तर ५ करोड रुपैयाँ विद्युतमा लगानी गर्ने व्यक्तिले सम्पत्तिको स्रोत नदेखाउनु पर्ने विभेदकारी नेपालको कानुनको कारण देशमा रोजगार उपलब्ध हुन नसकेको बताए । कार्यक्रममा स्थानीय तहको तर्फबाट जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, ईलाम नगरपालिकाका उपमेयर विष्णु दाहाल, गैर सरकारी संस्था महासंघ नेपाल मोरङका अध्यक्ष विष्णु शर्मा, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक पौडेल, महानगरपालिकाका प्राविधिक संयोजक सेवक बजगाईंले रोजगारका लागि विदेश जाने युवाहरूको लर्को लाइनलाई रोक्नका लागि रोजगार मेला कोसेढुंगा सावित हुने बताए ।