- ब्रह्मदेव यादव, विराटनगर ६८७ पटक हेरिएको
सोमबार, चैत्र ०५, २०८० समय : १२:३८:२९ , ९ महिना अगाडि
विराटनगरमा प्रेमीका चन्द्रिकाकुमारी दासको हत्या गरेर प्रेमी शिवशंकर दासले आत्महत्या गरेका छन् । सिरहा जिल्लाको फुल्काहाकट्टी नगरपालिका घर भई विराटनगरको नोबेल शिक्षण अस्पताल तथा मेडिकल कलेजमा स्टाफ नर्सको रुपमा कार्यरत २५ वर्षीय प्रेमीकाको चैत्र १ गते बिहीबार २३ वर्षीय प्रेमीले धारिलो हत्यार प्रहार गरेर हत्या गरेका थिए ।
विराटनगर–४ नोबेल मेडिकल कलेज नजिकै बुढाथोकी मार्ग स्थित डा. धिरेन्द्र गिरीको घरमा भाडामा बस्दै आएकी प्रेमीकालाई प्रेमी दासले विभत्स तरिकाले हत्या गरेर शौचालयमा शब राखेर फरार भएका थिए । प्रेमी दास पनि सिरहा बासी नै हुन् । प्रेमीका र प्रेमी दास बिच पछिल्लो समय प्रेममा घात अन्तर्घात भएपछि बढ्दै गएको मनमुटाव हत्या र आत्महत्यामा परिणत भएको हो ।
प्रेमीकाको हत्या गरेको ५ दिन पछि प्रेमी दासले पनि विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज अगाडि फाइन होटलमा झुन्डिएर आत्महत्या गरेको मोरङ प्रहरीले जानकारी गराएको छ । प्रेमीका दासको हत्यामा प्रेमी दासकै संलग्नता रहेको यकिन गरेर मोरङ प्रहरीले प्रेमी दासको खोजी जारी राखेको बेला आइतबार राती ११ बजे विराटनगरकै फाइन होटलमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
वैदेशिक रोजगारका लागि मलेसियामा रहेका प्रेमी दास ७ दिन अगाडि मात्रै नेपाल आएका थिए । सुरुमा घर सिरहा पुगेर विराटनगर आएका उनले प्रेमीका दासको कोठामै पुगेर हत्या गरेर फरार भएका थिए । फरार सुचिमा रहेका प्रेमी दास आइतबार दिनको २ बजे विराटनगरकै फाइन होटलमा बास बस्न पुगेका थिए । र राती ११ बजे झुण्डिएको अवस्थामा शब फेला परेको मोरङ प्रहरीका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । प्रेमीका प्रेमी हत्या–आत्महत्या प्रकरण बारे सूक्ष्म तरिकाले अनुसन्धान भई रहेको एसपी कार्कीले बताए ।