रानी नाकामा तनाव

  • ब्रह्मदेव यादव, विराटनगर ६७८  पटक हेरिएको

मंगलबार, चैत्र ०६, २०८० समय : १३:४०:३० , ७ महिना अगाडि

नेपाल–भारतको अन्तर्राष्ट्रिय सिमा नाका रानी नाकामा तनावको अवस्था श्रृजना भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्रीको बागडोर सम्हाली रहेका रवि लामिछानेको निर्देशनात्मक आदेश पछि मोरङ प्रहरीले रानी नाकाबाट सामान ल्याउन कडाइ गरेपछि तनावको अवस्था श्रृजना भएको हो ।

मंगलबार बिहानैदेखि रानी नाकामा सर्वसाधारणदेखि कारोबारीहरू मोरङ प्रहरीको कडाइका विरुद्ध आन्दोलन थालेका छन् । गृहमन्त्री लामिछानेको निर्देशात्मक आदेश पालना गर्ने मोरङ प्रहरीले विराटनगर भन्सार प्रशासन सँग सहकार्य गरेर भारतको जोगबनी बजारबाट सामान ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । चैत १ गतेदेखि भारतबाट नेपाल तर्फ खाद्यान्न सामग्री ल्याउन प्रतिबन्ध लगाएको मोरङ प्रहरीले मंगलबारदेखि लत्ताकपडा र चिनीसम्म ल्याउन दिएको छैन ।

कोशी प्रदेश सहित देशभरीबाट किनमेल गर्न भारतको जोगबनी बजार पुग्ने गरेका सर्वसाधारणलाई रानी नाकामै रोकेर मोरङ प्रहरीले सामान ल्याउन नपाइने उद्री जारी गरेपछि तनावको अवस्था श्रृजना भएको हो । जसका विरुद्ध सर्वसाधारण, अपाङ्ग, महिला सहित कारोबारी सडकमै बसेर सरकारका विरुद्ध नारावाजी गर्दै आन्दोलन थालेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भारतको जोगबनीबाट सामान ल्याउन दिदा तस्करी गराएको आरोप लाग्ने गरेकोले तस्करीलाई पूर्णरुपमा निरुत्साहित गर्न सामान ल्याउनमा रोक लगाइएको बताए ।