आज विराट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल

  • ब्रह्मदेव यादव, विराटनगर ४३८  पटक हेरिएको

बुधबार, चैत्र २१, २०८० समय : १०:५८:२१ , ८ महिना अगाडि

आज बुधबार विराट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको खेल हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं शिवम् ग्रुपका अध्यक्ष उद्योगी राजेन्द्र राउतको टोली सांग्रिला मोरङ र सशस्त्र प्रहरीबल (एपीएफ) बिच पहिलो सेमिफाइनलको खेल हुँदैछ । विराटनगरको सहिद रङ्गशालामा साँझ ६ः३० बजेदेखि सेमिफाइनलको खेल सञ्चालन हुनेछ ।

सेमिफाइनल खेलको टिकट दर ३ सय रुपैयाँ कायम गरिएको छ । सांग्रिला मोरङले विदेशी टोली भुटान र सशस्त्र प्रहरीबलले चर्च बोइजलाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेका थिए । सांग्रिला मोरङमा अभिषेक लिम्बु, विशाल सुनुवार र सशस्त्र प्रहरीबलमा मणि लामा, राष्ट्रिय खेलाडी सँगै विदेशी खेलाडी रहेकोले पहिलो सेमिफाइनलको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ । दुवै टोली फाइनमा पुग्ने गरी खेल प्रदर्शन गर्ने भएकोले विराटनगरको शहीद रङ्गशालामा अपेक्षा गरिए भन्दा बढि दर्शक आउने आयोजकले आशा गरेका छन् ।

विराट गोल्डक ट्रष्टले प्रत्येक वर्ष वितरण गर्ने गरेको निःशुल्क पास प्रणाली हटाइएको, भारतमा आइपिएल प्रतियोगिता सञ्चालन भई रहेको, विद्यार्थीहरूको एसइइ परीक्षा सञ्चालन भई रहेको, मुस्लिम समुदायको महत्वपूर्ण चार्डपर्व रमजान जारी रहेको र प्रत्येक महिना मोरङ जिल्लाबाट ५ हजार भन्दा बढि विद्यार्थी उच्च शिक्षा हासिल गर्ने नाममा वैदेशिक रोजगारीमा जाने क्रम रहेकोले विराट गोल्डक फुटबल प्रतियोगितामा दर्शक मैदान सम्म पुग्न नसक्दा आयोजकले अपेक्षा गरे अनुसारको टिकट बिक्री गर्न नसकेको विराट गोल्डकप ट्रष्टका अध्यक्ष तथा फुटबल आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले बताए । चैत्र २४ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।