- ब्रह्मदेव यादव, विराटनगर ११२८ पटक हेरिएको
बिहिबार, बैशाख २०, २०८१ समय : १६:०४:१४ , ६ महिना अगाडि
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको आयोजना गर्न लागेको छ । २०८१ वैशाख २२ गतेदेखि सुरु हुने क्रिकेट लिग प्रतियोगिता जेठ ५ गतेसम्म चल्ने छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले चौथो संस्करणको क्रिकेट लिग प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न केन्द्रिय उपाध्यक्ष गोपाल अग्रवाललाई क्रिकेट प्रतियोगिताको मुख्य संयोजक र केन्द्रिय सचिव मोहित लालवानीलाई सहसंयोजक पदको जिम्मेवारी प्रदान गरेको छ ।
संगठनले विहीबार पत्रकार सम्मेलन गरेर २०८१ वैशाख २२ गते जेठ ५ गतेसम्म क्रिकेट लिग प्रतियोगिता संचालन हुने जानकारी गराएका छन् । विराटनगर, भैरहवा र काठमाडौंमा नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सञ्चालन हुने मुख्य संयोजक गोपाल अग्रवालले बताए । प्रतियोगितामा १४ टिमको सहभागिता रहनेछ । विराटनगर महानगरपालिकाको वडा १९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा ९ टिमले १६ वटा म्याच खेल्ने छ । भैरहवामा ५ टिमले १० वटा म्याच खेल्ने छ । लिग चरणमा खेलाइएको खेलको विजेताहरू मध्ये अंकको हिसाबले सर्वाधिक अंक प्राप्त गर्ने दुई दुई वटा टिम सेमिफाइनल खेलका लागि छनौट हुने छन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल काठमाडौंको मूलपानी स्थित क्रिकेट मैदानमा हुनेछ । २०८१ जेठ ४ गते सेमिफाइनल र जेठ ५ गते फाइनल खेल खेलाइने छ । प्रतियोगिताको विजेता टिमले ७१ हजार र उपविजेता टिमले ४१ हजार नगद सहित सिल्ड प्राप्त गर्ने छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत देशको विभिन्न भागमा बसोवास गरी रहेका २६ युवा मञ्चहरु मध्ये १५ मञ्चको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगितामा सहभागिता रहेको छ ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले मारवाडी क्रिकेट लिग प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न मधुर दुगडलाई मिडिया संयोजकको जिम्मेवारी तोकेको छ । पत्रकार सम्मेलनमा नेपाल मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारु, पूर्वअध्यक्ष राजेश लखोटियाको सहभागिता रहेको थियो । नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिताको हुलास खाद्यान्न उद्योग मुख्य प्रायोजक रहेको छ । रमपम तयारी चाउचाउ, ईलेक्ट्रा ईलेक्ट्रिक, धोनी साबुन, सेन्चुरी स्वाइसेज र स्नाक्स्ले प्रतियोगितालाई प्रायोजन गरेका छन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख भन्दा बढि रकम खर्च हुनेछ ।