कोशी प्रदेशमा मुख्यमन्त्री सहित १० सदस्यीय मन्त्रिमण्डल

  • ब्रह्मदेव यादव, विराटनगर ६१५  पटक हेरिएको

शुक्रबार, जेठ ०४, २०८१ समय : १८:१४:३४ , ५ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा मन्त्रिमण्डलमा सहभागी मन्त्रीको संख्या १० पुगेको छ । मुख्यमन्त्री कार्कीको आफ्नै दल नेकपा एमालेबाट मुख्यमन्त्री सहित ६ र नेकपा माओवादी केन्द्रबाट ४ जना मन्त्री बनेका छन् । मुख्यमन्त्री कार्कीले मन्त्री मण्डल विस्तार सँगै मन्त्रालय बाँडफाँड गरेका छन् । मुख्यमन्त्री कार्कीले कृषि, उद्योग तथा सहकारी मन्त्रालय आफै सँग राखेका छन् ।

रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्रालय, एकराज कार्कीलाई उर्जा सिचाई तथा खानेपानी मन्त्रालय, गणेश उप्रेती (सुशिल) लाई भौतिक पूर्वाधार विकास मन्त्रालय, नारायणबहादुर मगरलाई पर्यटन वन तथा वातावरण मन्त्रालय, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

श्रृजना राईलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राज्यमन्त्री र बन्दना झागरलाई पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रीहरूलाई र मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका थिए । बैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कार्कीले बैशाख ३१ गते कोशी प्रदेश सभाबाट विश्वासको मत हासिल गरेका छन् ।

मुख्यमन्त्री कार्कीलाई असंवैधानिक मुख्यमन्त्री भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने कोशी प्रदेश प्रमुख खापुङलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । जुन मुद्दा विचारधिन अवस्थामा छ ।