नेपाल पत्रकार महासंघको कोशी प्रदेश समिति र मोरङ शाखामा तालाबन्दी

  • चिरफार डटकम, विराटनगर ४३३  पटक हेरिएको

मंगलबार, जेठ १५, २०८१ समय : १७:५२:५८ , ४ महिना अगाडि

नेपाल प्रेस यूनियनले सदस्यता शुद्धिकरण अभियानप्रति असहमति जनाउँदै नेपाल पत्रकार महासंघको कोशी प्रदेश समिति विराटनगर र मोरङ शाखा विराटनगरको कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल प्रेस यूनियन कोशी प्रदेश समितिका अध्यक्ष मीनकुमार नवोदित र यूनियनको मोरङ शाखा अध्यक्ष बेदराज पौडेलको नेतृत्वमा गएको यूनियन सँग आवद्ध पत्रकारहरूले नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र मोरङ शाखा कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाल पत्रकार महासंघको केन्द्रिय समिति, प्रदेश समिति र जिल्ला समितिको यहि जेठ २६ गते निर्वाचन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । पत्रकार महासंघको तीन तहकै निर्वाचनको कार्यतालिका सार्वजनिक सँगै महासंघको केन्द्रिय समितिले सदस्यताको टुंगो लगाउँदै नामावली सार्वजनिक गरेपछि नेपाल प्रेस यूनियनले सदस्यता शुद्धिकरण प्रति असहमति जनाएको हो ।

जिल्ला शाखाले सिफारिस गरेर पठाएको नामलाई महासंघको केन्द्रिय समितिले पूर्वाग्रहीको आधारमा यूनियन सँग आवद्ध पत्रकारको नाम काटेपछि यूनियनले त्यसलाई सच्याउन माँग गर्दै महासंघमा तालाबन्दी गरेको हो । नेपाल प्रेस यूनियन कोशी प्रदेश समितिका अध्यक्ष मीनकुमार नवोदितले महासंघको केन्द्रिय समितिले यूनियन सँग आवद्ध पत्रकारहरुको नाम मतदाता सूचिमा समावेश नगरेसम्म तालाबन्दी नखुल्ने बताए ।