- ब्रह्मदेव यादव, विराटनगर ५३५ पटक हेरिएको
मंगलबार, जेठ १५, २०८१ समय : १७:५६:१५ , ५ महिना अगाडि
कोशी प्रदेशको राजधानी विराटनगरमा जेठ १७ र १८ गते रोजगार मेलाको आयोजना हुन लागेको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराउने उद्देश्यका साथ “श्रमाधान रोजगार मेला” को आयोजना गर्न लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले श्रमाधान रोजगार मेलाको संयोजन गरेको छ ।
“श्रमाधान रोजगार मेला” को बारेमा जानकारी गराउने गरी मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले २ सय ५० जना भन्दा बढि बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराउने जानकारी गराए । विराटनगर महानगरपालिकाको वडा नं. ९ रेम्बो मोड स्थित सिटी प्यालेस एण्ड रिसोर्टमा रोजगार मेलाको आयोजना गर्न लागिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुशिल आचार्य, श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख पुष्प कटुवाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेस संयोजक डी.आर. आचार्य र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका अधिकृत रीता खतिवडा पत्रकार सम्मेलनमा सहभागि थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशको सातवटै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म “श्रमाधान रोजगार मेला” को आयोजना गर्न लागेको छ । मन्त्रालयले जेठ १७ र १८ गते कोशी प्रदेशको विराटनगर, जेठ १९ र २० गते मधेस प्रदेशको जनकपुरधाम, जेठ २१ र २२ गते गण्डकी प्रदेशको पोखरा, जेठ २३ र २४ गते लुम्बिनी प्रदेशको बुटवल, जेठ २५ र २६ गते कर्णाली प्रदेशको सुर्खेत, जेठ २७ र २८ गते सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ र ३० गते बागमती प्रदेशको ललितपुर काठमाडौंमा मेलाको आयोजना गर्दैछ ।