- चिरफार डटकम, विराटनगर ४०२ पटक हेरिएको
बुधबार, जेठ २३, २०८१ समय : १२:४०:०९ , ५ महिना अगाडि
कोशी प्रदेशमा केही समय अगाडिदेखि रोकिएको खेलकुद प्रतियोगिता पुनः सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को पहलमा रोकिएको खेलकुद प्रतियोगिता पुनः सुरु भएको हो । २०८१ बैशाख २० गतेदेखि प्रदेश खेलकुद विकास बोर्डमा पुर्नबहली भएलगत्तै बस्नेतले रोकिएको खेलकुद प्रतियोगितालाई सुचारु गर्ने निर्णय गरेका हुन् ।
२०८१ असार १५ गतेसम्ममा कोशी प्रदेशमा खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी सदस्य सचिव बस्नेतले खेलकुद गतिविधिलाई सुचारु गर्न जोडतोडका साथ तयारी थालेका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर सदस्य सचिव बस्नेतले असार १५ गतेभित्र १३ वटा खेलकुद प्रतियोगिता सम्पन्न गर्न १ करोड भन्दा बढि रकम खर्च हुने जानकारी गराए ।
पत्रकार सम्मेलनमा बोर्ड सदस्यीय राजेन्द्र बराल र प्रदिप भगत थारुको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले असार ३ गतेदेखि ७ गतेसम्म तेह्रथुममा पुरुष फुटबल प्रतियोगिता, असार ८ देखि १३ गतेसम्म खोटाङमा महिला फुटबल प्रतियोगिता, असार ७ देखि १० गतेसम्म मोरङमा कबड्डी प्रतियोगिता आयोजना गर्ने तयारी थालेको छ ।
यस बाहेक मोरङमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता, सुनसरी मोरङ र झापामा महिला सेल्फ डिफेन्स तालिम तथा योग प्रशिक्षण, सुनसरीमा कुरास प्रतियोगिता, मोरङमा भारतोलन प्रतियोगिता, मोरङ र तेह्रथुममा विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी सुरु गरेका छन् ।