तेह्रथुममा प्रतिबन्धित औषधि सहित ५ पक्राउ

  • वविता राई  ८०९  पटक हेरिएको

आइतबार, आषाढ ०९, २०८१ समय : १६:००:२७ , ५ महिना अगाडि

तेह्रथुमको सदरमुकाम म्याङलुङमा लागूऔषध ट्रामाडोल र प्रतिबन्धित औषधि सहित ५ जनालाई प्रहरीले  पक्राउ गरेको छ । लागूऔषध ट्रामाडोल ५१ ट्याब्लेट, स्पाज्मो २७ ट्याब्लेट र स्पाजपेन ४ ट्याब्लेट गरी जम्मा ३ हजार ९७ वटा गोटी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  सुनसरी घर भई म्याङलुङ बस्ने किशोर १ जना , म्याङलुङ नगरपालिकाका  १ किशोर सहित सोही नगरपालिकाकै २१ वर्षीया बिक्रम वाईवा, १८ वर्षीया सँगम गुरुङ र प्रयुश लिम्बू रहेका छन् । विशेष सुराकीको आधारमा प्रहरी चौकी जिरिखिम्ती र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीको टोलीले जिरिखिम्ती र म्याङलुङबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक रञ्जन दाहालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले आज पत्रकार सम्मेलन गर्दे पक्राउ परेका व्यक्ति र बरामद औषधि सार्वजनिक गरेको छ  । बरामद गरिएका औषधी ट्रामाडोललाई सरकारले लागूऔषध मानी बिक्रीवितरण गर्न प्रतिबन्धित छ भने स्पाज्मोस्पाज्मेन डाक्टरको सिफारिसको पुर्जा अनुसार मात्रै खरिद गर्न पाइने व्यवस्था छ ।

 सङ्गठित रुपमा प्रतिबन्धित औषधि  तराईको जिल्लाबाट ल्याएर बिक्री वितरण र सेवन गर्ने गरेको सुराकीको आधारमा लामो समयको अनुसन्धानबाट पक्रन सफल भएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । पहाडी जिल्लामा यति ठुलो मात्रामा औषधि भेटिनुमा सङ्गठित रुपमा लागूऔषधको गिरोह रहेको हुनसक्ने भएकाले हामिले थप अनुसन्धान गरिरहेका छौ  ।  

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा राखी  थप अनुसन्धान भैरहेको छ । प्रहरीको लागूऔषध सप्ताह चलिरहँदा जिल्ला प्रहरी कार्यालय तेह्रथुमले आज लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसार विरुद्ध सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । लागूऔषध ओसारपसार तथा सेवन गर्नेमा किशोर उमेरका बढि संलग्न देखिएकाले यसको नियन्त्रणका लागि विशेषगरी अभिभावक सचेत हुन जरुरी भएको कुरा छलफल कार्यक्रममा उठेका छन् ।