एकै दिन विराटनगरका दुई निजी क्षेत्रको कार्यक्रम

  • चिरफार डटकम, विराटनगर ५२१  पटक हेरिएको

बिहिबार, आषाढ १३, २०८१ समय : १६:२१:३० , ३ महिना अगाडि

एकै दिन विराटनगरका निजी क्षेत्रको दुई संस्थाले बेग्लाबेग्लै कार्यक्रम गर्ने तयारी गरेको छ । उद्योग संगठन मोरङले शुक्रबार विराटनगरमा ५१औं वार्षिक साधारण सभा मनाउन लागेको छ । विराटनगर–२ स्थित आफ्नै भवनमा संगठनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा ५१औं वार्षिक साधारण सभा मनाउन लागेको हो । संगठनका अध्यक्ष राकेश सुरानाले ३ः०० बजे सुरु हुने कार्यक्रम ६ः०० बजे समापन गर्ने गरी कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेका छन् ।

यसै गरी नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले शुक्रबार विराटनगरमा स्थापना दिवस मनाउने तयारी गरेको छ । परिसंघले स्थापना दिवसको अवसरमा परिसंघको सचिवालय प्राङ्गणमा रक्तदान कार्यक्रम गर्ने तयारी गरेको छ । परिसंघले आफ्नै वाटिकामा विभिन्न जातका फुलका बिरुवा रोप्ने कार्यक्रम रहेको परिसंघका कोशी प्रदेश अध्यक्ष तथा संविधान सभा सदस्य पवनकुमार सारडाले जानकारी गराएको छ ।

एकै दिन विराटनगरका दुई निजी क्षेत्रका संस्थाले एउटै समयमा कार्यक्रम गर्दा अतिथि अलमलमा पर्ने भएकोले दुवै संस्थाले सहमति जुटाएर बेग्लाबेग्लै समयमा कार्यक्रम गर्ने तयारी गरेका छन् । परिसंघको कोशी प्रदेश समितिले शुक्रबार बिहान ८ः०० बजे र उद्योग संगठन मोरङले शुक्रबार नै अपरान्ह ३ः०० बजे कार्यक्रम गर्ने तयारी गरेका छन् ।