- ब्रह्मदेव यादव, विराटनगर ५०४ पटक हेरिएको
बुधबार, साउन ०९, २०८१ समय : १६:५३:२६ , ३ महिना अगाडि
बुधबार काठमाडौंमा भएको विमान दुर्घटनामा विराटनगरका ३ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमानमा सवार विराटनगरका सुशान्त कटुवाल, अश्विन निरौला र सागर आचार्यको मृत्यु भएको छ । कटुवाल विमानको को–पाइलट, निरौला इन्जिनियर र आचार्य सेफ्टी चिफ रहेका थिए ।
विमानमा एक विदेशी सहित १९ जना सवार थिए । जसमा १८ जनाको मृत्यु भएको छ । जसमा १७ जना विमानका कर्मचारी रहेका थिए । बुधबार बिहान ११ बजे काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान २ सय मिटर माथि पुगेपछि कोल्टिएर पुनः जमिनमा खसेको थियो । विमानमा आगलागी हुँदा विराटनगरका ३ सहित १८ जनाको मृत्यु भएको हो ।
विमानका पाइलट ३७ वर्षीय मनिष शाक्य जिउँदै रहेको र उनको उद्धार पछि केएमसी अस्पताल काठमाडौंमा उपचार भई रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकलाई २० हजार अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था छ ।
यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमा वापत भुक्तानी गर्नेछ । विमानका चालक दलका सदस्यको हैसियतमा बीमा वापत ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ । नेपालमा व्यवसायीक हवाई उडान सुरु भएपछि यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर तोकेको थियो । जुन रकम अहिले सम्म कायम छ ।