कोशी प्रदेशमा नयाँ उद्योग स्थापना घट्दो क्रममा

  • ब्रह्मदेव यादव, विराटनगर ३७४  पटक हेरिएको

बिहिबार, साउन १७, २०८१ समय : १६:२६:१० , २ महिना अगाडि

कोशी प्रदेशमा नयाँ उद्योग स्थापना घट्दो क्रममा छ । आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशमा ५ हजार ३ सय नयाँ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ३ सय ४२ मात्रै नयाँ उद्योग दर्ता भएर सञ्चालनमा आएका छन् । प्रत्येक वर्ष नयाँ उद्योग दर्ता भएर सञ्चालनमा आउने घट्दो क्रममा रहेकोले रोजगारी पनि घटेका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको जमात बढ्दो क्रममा रहेकोले नयाँ उद्योग सञ्चालनमा कमी आएको हो । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा खर्च गरेको रकमको वार्षिक प्रगति समीक्षा गोष्ठी मार्फत नयाँ उद्योग स्थापनामा कमी आएको तथ्याङ्क सार्वजनिक गरेका छन् । कोशी प्रदेश सरकारले १५ करोड रुपैयाँ भन्दा कम लागतमा सञ्चालनमा आउने उद्योगलाई प्रत्येक जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने व्यवस्था गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेशमा १० अर्ब ४८ करोडको लागतमा सञ्चालनमा आएको ३ हजार ३ सय ४२ उद्योग मध्ये १ हजार ३ सय ९९ उद्योगलाई कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालयले प्राविधिक सहयोग गरेका छन् । उद्योगका मजदुरलाई तालिम दिनेदेखि अनुदानमा औजार खरीद गरिदिने काम मन्त्रालयले गरेको मन्त्रालयका कम्प्युटर अधिकृत चुडामणी न्यौपानेले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मुख्य सचिव केदारनाथ शर्मा, उद्योग कृषि सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वार्षिक समीक्षा गोष्ठीमा सहभागिता जनाएका थिए ।

साउन १७ र १८ अर्थात बिहीबार र शुक्रबार गरी २ दिनसम्म चल्ने वार्षिक समीक्षा गोष्ठीमा कोशी प्रदेश सरकार मातहत रहेका ४६ वटा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा खर्च गरेको रकमको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।