- ब्रह्मदेव यादव, विराटनगर ७४८ पटक हेरिएको
बिहिबार, साउन २४, २०८१ समय : १७:५२:२१ , २ महिना अगाडि
अब प्रत्येक शुक्रबार विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित परोपकारघाटमा परमार्थ सिंघिया आरती सेवा सञ्चालन हुने भएको छ । २०८१ साउन २५ गते शुक्रबार परमार्थ सिंघिया आरती सेवाको शुभारम्भ हुँदैछ । शुक्रबार साँझ ६ः३० बजे सुरु हुने आरती ७ः१५ बजेसम्म सञ्चालन हुनेछ । ५ जना आरती विशेषज्ञ गुरुबाट प्रत्येक शुक्रबार साँझ ४५ मिनेटको आरती हुनेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार परमार्थ सिंघिया आरतीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । परमार्थ सिंघिया आरती सेवा परोपकारधाम विराटनगरले विहीबार पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि सुरु हुने आरती सोमबारसम्म चल्ने जानकारी गराएको छ ।
प्रत्येक शुक्रबार सञ्चालनमा आउने परमार्थ आरतीको शुभारम्भ भएको अवसरमा शुक्रबारदेखि सोमबारसम्म आरती सञ्चालन हुनेछ । त्यसपछि प्रत्येक शुक्रबार आरती सञ्चालनमा आउने छ । र यसलाई निरन्तरता दिइने नेपाली कांग्रेसका युवा नेता तथा समितिका महासचिव राजन न्यौपानेले बताए ।
आरती सेवा समितिका सल्लाहकार तथा विराटनगरबाट प्रकाशन भइरहेको न्यू सृष्टि दैनिकका अध्यक्ष एवं प्रधानसम्पादक शंकर खरेलले परमार्थ सिंघिया आरती शुभारम्भ भएको पहिलो दिन शुक्रबार २५ हजारभन्दा बढि भक्तजनहरू सहभागि हुने जानकारी गराएका छन् ।
जसका लागि परोपकारघाटको सिंघिया नदिको वारिपारि आरती हेर्न आउने भक्तजनका लागि उभिने व्यवस्थित स्थानको व्यवस्थापन गरिएको बताए । समितिले परमार्थ सिंघिया आरती सेवालाई व्यवस्थित रुपमा सञ्चालन गर्न र निरन्तरता दिन २ सय ५१ सदस्यीय मुल व्यवस्थापन समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १३ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ ।
शुक्रबारको परमार्थ सिंघिया आरतीमा विराटनगर–१२ स्थित पाञ्चाली मन्दिरका पिठाधीश स्वामी प्रपन्नाचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, कोशी प्रदेशका सांसद भीम पराजुली सहभागि हुने परमार्थ आरती सेवा समितिका अध्यक्ष एवं पूर्व न्यायाधीश भिमेन्द्रबहादुर कार्कीले जानकारी गराएका छन् ।