कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

  • ब्रह्मदेव यादव, विराटनगर ३४४  पटक हेरिएको

शुक्रबार, साउन ३२, २०८१ समय : १४:४३:४३ , २ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शुक्रबार १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । २०८१ बैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कार्कीले साउन ३२ गते शुक्रबार १०० दिन पुरा गरेका छन् । बैशाख ३१ गते कोशी प्रदेश सभाबाट विश्वासको मत हासिल गरेर काम सुरु गरेका मुख्यमन्त्री कार्कीले १०० दिनमा ६० वटा काम गरेका छन् ।

राजनैतिकमा १०० दिनलाई विशेष अवसरको रुपमा ब्याख्या गर्ने प्रचलन छ । कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भई सकेपछि नेकपा माओवादी केन्द्र सरकारमा सहभागि थिए । नेपालको राजनैतिकमा ऐतिहासिक परिवर्तन सँगै प्रमुख दुई ठूला राजनैतिक दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सत्ता सहकार्य गर्न गठबन्धन निर्माण भएको छ । कांग्रेस एमाले गठबन्धन निर्माण सँगै केन्द्रदेखि प्रदेशसम्म सरकार निर्माण हुने क्रम जारी छ ।

कांग्रेस एमाले गठबन्धन निर्माण पछि नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएका छन् । र मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा कांग्रेस सहभागि हुने तयारी गरिरहेको छ । यस्तो अवस्थामा एक्लै सरकार चलाई रहेको एमालेका मुख्यमन्त्री कार्कीले गरेको १०० दिनको कामलाई समेटेर तयार पारेको विवरण सार्वजनिक गरेका छन् ।

धनकुटाको भेडेटारमा स्काई वाक निर्माण, कोशी प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा, चिन सँग सिमानाका जोडिएको किमाथाङ्का नाका पुनः सुचारु, हेलो सी.एम., सार्वजनिक सुनवाई प्रणाली लागु, आर्थिक वर्ष २०८१/०८२ को वार्षिक निती तथा कार्यक्रम तथा बजेट स्वीकृतिलाई कोशी प्रदेश सरकारको महत्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

सरकारको १०० दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री, सांसद, मुख्य सचिव केदारनाथ शर्मा, विभिन्न मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी सहभागि रहेका थिए ।